खाँदबारी-किमाथांका सडक खण्डको ट्र्याक खोल्नेक्रम अन्तिम चरणमा
डिल्ली भट्टराई/ काठमाण्डू, २०८१ पुस १२ गते शुक्रबार । बहुपतिक्षित राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कोशी करिडोरको खाँदबारी-किमाथांका सडक खण्ड १६२ किलोमिटर मध्ये १.४० किलोमिटर मात्र ट्र्याक खोल्न बाँकी रहेको छ ।
पूर्वी नेपालको भारतसँग सीमा जोडिएको जोगवनी-विराटनगरदेखि कोशी राजमार्गहुँदै उत्तरी छिमेकी चीनलाई जोड्ने अत्यन्त महत्वपूर्ण यस राजमार्गको बाँकी ट्र्याक खोल्ने काम २०८२ असार मसान्त भित्र सक्ने नेपाली सेनाको लक्ष्य रहेको छ । यो सडकलाई अझ चौडा पारेर ग्राभेल र कालोपत्रे गर्न अझै केही बर्ष लाग्ने देखिन्छ । यो सडकको निर्माण कार्य समाप्त भएपछी नेपाल-चीन ब्यापारका लागि किमाथांका नाका प्रयोग गर्न सकिने भएकोले यस सडकलाई नेपालको आर्थिक धमनीका रुपमा समेत परिभाषित गर्न सकिने छ ।
स्थानीयका लागि मात्र नभएर सिंगो देशबासीको भाग्य र भविष्यसँग जोडिएको यो सडकको निर्माणलाई तिब्र गतिमा अघि बढाउन सके भारतमाथि निर्भर रहँदै आएको नेपालको व्यापारीक कारोबार चीनसँग पनि जोडिने विश्वास गरिन्छ । जसले विश्वको दोस्रो ठूलो अर्थतन्त्रको रुपमा रहेको चीनले हासिल गरेका उपलब्धिहरुको फाईदा लिन नेपाललाई सहयोग पुर्याउने छ ।