झापा कपः आर्मीलाई हराउँदै सहलेश युवा क्लब सेमिफाइनलमा
झापा, २०८१ पुस २ गते मंगलबार । बिर्तामोडस्थित डोमालाल रङ्गशालामा आज भएको क्वार्टरफाइनलमा सिराहाको सहलेश युवा क्लवसँग पराजित हुँदै त्रिभुवन आर्मी फुटबल क्लब प्रथम झापा कप प्रतियोगिताबाट बाहिरिएको छ ।
सिराहाको सहलेश युवा क्लबसँग त्रिभुवन आर्मी क्लव २–० को गोल अन्तरले पराजित भएको हो । झापा–११ फुटबल क्लवद्वारा आयोजित उक्त प्रतियोगितामा सहलेश युवा क्लव यो बिजयसँगै सेमिफाइनलमा पुगेको छ ।
सहलेशको जितमा अभि लामा र आदित्य शाक्यले गोल गरेका थिए । खेलको १८औँ मिनेटमा अभि लामाले पहिलो गोल गर्दै सहलेशलाई १–० को स्थितिमा पु¥याएका थिए । सलहेशको लागि दोस्रो गोल आदित्य शाक्यले गरेका थिए । आर्मीका दुईजना डिफेन्डरले क्लियर गर्न नसकेको बललाई शाक्यले गोलकिपर कुथुलाई बिट गर्दै सुन्दर गोल गरेका थिए ।
राससका अनुसार खेलको ३७औँ मिनेटमा सहलेशका जोराह ग्लोरीले डिबक्सबाट गरेको शक्तिशाली प्रहार दायाँ पोलमा लागेर बाहिरिएपछि खेलमा थप गोल गर्ने अवसरबाट आर्मी क्लव बञ्चित भएको थियो ।
प्रतियोगितामा अनुशासन उल्लङ्घन गरेको भन्दै रेफ्री श्याम दनुवारले त्रिभुवन आर्मी क्लवका कप्तान भरत खवासलाई रातो कार्ड दिएका थिए । खेलको प्लेयर अफ द म्याच सहलेशका अभि लामा घोषित भएका थिए । उनले नगद रु १० हजार पुरस्कार पाए ।
मङ्गलबारको दोस्रो क्वार्टरफाइनलमा भारतको जीटीए दार्जीलिङ र राष्ट्रिय जागृति क्लब इटहरीबीच हुने आयोजक क्लवका महासचिव गणेश पोखरेलले जानकारी दिनुभयो ।
शनिबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद रु. १० लाख तथा उपबिजेताले नगद रु पाँच लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिनुभयो ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचले रु १० हजार नगद पाउने गरेका छन् भने प्रतियोगिताको उच्च गोलकर्ता एक जना तथा उत्कृष्ट गोलकिपर एक जनालाई रु ३५ हजार नगद पुरस्कार प्रदान गरिने जनाइएको छ । प्रतियोगितामा नेपालका नौ र भारतको एउटा गरी १० वटा क्लबको सहभागिता छ ।