Thu. Apr 25th, 2024

एकै दिन चार जनाको मृत्यु : कोरोनाले ज्यान गुमाउनेको संख्या ५६ पुग्यो

काठमाडौं, २०७७ साउन १६ गते शुक्रबार

नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शुक्रबार थप चार जनाको कोरोनाले मृत्यु पुष्टि भएको हो । यसअघि कोरोनाकै कारण ५२ जनाको मृत्यु भएको थियो ।

मन्त्रालयका अनुसार शुक्रबार मृत्यु पुष्टि हुने चारैजना पर्साका हुन् । प्रवक्ता गौतमका अनुसार पर्साको वीरगन्ज महानगरपालिका ११ श्रीपुर बस्ने ५६ वर्षीय पुरुष, वीरगन्ज १६ कै ३५ वर्षीय पुरुष, वीरगन्ज-२ कै ६५ वर्षीय पुरुष र वीरगन्ज-११ स्थायी घर भएर ललितपुर थसिखेल बस्ने ६५ वर्षीया महिलाको निधन भएको हो।

वीरगन्ज महानगरपालिका ११ श्रीपुर बस्ने ५६ वर्षीय पुरुषको  साउन १५ गते कोरोनाकै कारण मृत्यु भएको हो । मुटुको रोगी उनमा साउन ६ गते कोरोना पुष्टि भएको थियो । उनलाई साउन ७ गते गण्डक अस्थायी कोरोना अस्पताल भर्ना गरिएको थियो । उनको गण्डक अस्पतालमा बिहीबार राति ११ बजे मृत्यु भएको हो । उनको मृत्यु हुँदा अक्सिजनको मात्रा कमी हुँदै गएको थियो ।

त्यसैगरी वीरगन्ज महानगरपालिका-१६ कै ३५ वर्षीय पुरुषको बिहीबार कोरोनाले मृत्यु भएको छ । उनको साउन १५ गते साँझ ७ः४० मा गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।

उनी निजी क्लिनिक हुँदै साउन ५ गते तराई अस्पताल भर्ना भएका थिए । उच्च ज्वारो र स्वासप्रश्वासमा समस्या भएपछि साउन १३ गते उनी गण्डक अस्पतालमा भर्ना भएका थिए । उनमा बिहीबार मात्र कोरोना पुष्टि भएको थियो ।

सँगै वीरगन्ज महानगरपालि-२ छपकैया निवासी अर्का एक  ६५ वर्षीय पुरुषको साउन १५ गते कोरोनाले मृत्यु भएको छ । उनको भने मृत्युपछि कोरोना पुष्टि भएको हो ।

शुक्रबार बिहान ललितपुरको पाटन अस्पतालमा एक महिलाको कोरोनाकै कारण मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका-११ स्थायी घर भएर ललितपुर महानगरपालिका-५ थसिखेल बस्ने ति महिला साउन ६ गते ज्वरो, खोकी र स्वासप्रश्वसामा समस्या आएपछि स्टार अस्पतालमा भर्ना भएकी थिइन् । उनमा कोरोना संक्रमण पुष्टि भएपछि पाटन रेफर गरिएको थियो ।

पछिल्लो २४ घण्टामा नेपालमा २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुसार कुल संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ । संक्रिय संक्रमितको संख्या पाँच हजार तीन सय १६ छ ।

बिहीबार २७४, बुधबार २१०, मंगलबार ३५३, सोमबार १३९ जनामा कोरोना संक्रमण देखिएको थियो। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५१ डिस्चार्ज भएका छन् । कुल डिस्चार्ज हुनेको संख्या भने १४ हजार तीन सय ९९ पुगेको छ । डिस्चार्ज प्रतिशत ७२ दशमलव ८ भएको प्रवक्ता गौतमले जानकारी दिए । अहिले क्वारेन्टाइनमा १२ हजार एक सय ११ जना छन् । अन्नपूर्ण पोष्ट दैनिक अनलाईनबाट

Facebook Comments