Thu. Apr 25th, 2024

विराटनगरमा पुनः १४ दिने लकडाउन

फाईल फोटो

विराटनगर, २०७७ साउन १६ गते शुक्रबार

समुदायमा कोरोना संक्रमण बढेसंगै विराटनगरमा पुनः १४ दिने लकडाउनको घोषणा गरिएको छ । ४ महिनासम्मको लकडाउनले थिलथिलो भएको विराटनगर महानगरलाई भदौं १ गतेसम्म लकडाउनमा लैजाने निर्णय गरिएको हो ।

महानगरपालिकामा बसेको महानगरस्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट समितिको बैठकले आज (शुक्रबार) राति १२ बजेदेखि भदौ १ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

गोरखापत्र अनलाईनका अनुसार विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले अत्यावश्यकबाहेक सबै क्षेत्र बन्द रहने बताउनुभयो । उहाँका अनुसार खाद्यान्नसहित दूध, तरकारीजन्य वस्तुको लागिसमेत समय तालिका तोकिनेछ । विराटनगर महानगरपालिकामा ट्राभल हिस्ट्री नभएका तर लक्षणसहितका कोरोना सङ्क्रमितको सङ्ख्या वृद्धि हुँदैगएपछि महानगरले सर्वपक्षीय छलफल आयोजना गरेको थियो ।
समुदायस्तरमा सङ्क्रमण फैलन नदिनका लागि र कोभिड–१९ बाट सुरक्षाका आवश्यक सबै विधि प्रयोग गर्ने निर्णय गरेको ।

महानगरमा यसपछाडि निजी अस्पताल तथा नर्सिङ होममा सङ्क्रमितहरू फेला परे उनीहरूले त्यही अस्पतालमा उपचारका लागि व्यवस्थापन गर्नुपर्ने निर्णय गरेको छ । यसैगरी विभिन्न समितिहरू बनाउँदै सङ्क्रमितको उपचार व्यवस्थापन गर्ने भएको छ ।

बैठकले डा. हेमसाग रिमालको संयोजकत्वमा होम क्वारेन्टाइन समिति, डा. सुशील तपडियाको संयोजकत्वमा पीसीआर ल्याब स्थापना समिति, अर्चना पोखरेलको संयोजकत्वमा मनोपरामर्श समिति, डा. सूर्य पराजुलीको संयोजकत्वमा कन्ट्याक्ट ट्रेसिङ समिति गठन गरिएको छ ।

Facebook Comments