Tue. Apr 30th, 2024

‘अमेरिकी सहयोग निरन्तर’ : एमसीसी अनुमोदनमा चासो

काठमाडौं, २०७७ साउन ११ गते आईतबार

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र संयुक्त राज्य अमेरिकाका राजदूत र्‍याण्डी बेरीबीच भेटवार्ता भएको छ। आइतबार दिउँसो मन्त्री पोखरेलसँग  भेटवार्ताका लागि अमेरिकी राजदूत बेरी रक्षा मन्त्रालयमा पुगेका हुन्।

भेटमा अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदनको विषयमा राजदूत बेरीले चासो राखेका छन्। मन्त्रालय स्रोतका अनुसार अमेरिकाले लामो समयदेखि गर्दै आएको सहयो जारी रहने बताउँदै राजदूत बेरीले यस्तो चासो राखेका हुन्।

‘कठिन परिस्थितिका बाबजुद नेपाललाई सहयोग गर्न अमेरिका सदैव तत्पर रहेको छ’, उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अमेरिकाले नेपाललाई विगत ७० वर्षदेखि आर्थिक सामाजिक हित हुने गरी विभिन्न क्षेत्रमा सहयोग उपलब्ध गराउँदै आएको र यस्तो सहयोगलाई आगामी दिनमा पनि निरन्तर जारी राखिने छ।’

रक्षामन्त्री पोखरेलको निजी सचिवालयले विज्ञप्ति सार्वजनिक गर्दै भेटमा कोभिड-१९संक्रमणको रोकथाम¸ नियन्त्रण र उपचारका लागि भएका प्रयासका साथै द्विपक्षीय हित र सरोकारका विभिन्न विषयमा छलफल भएको उल्लेख गरेको छ।

‘शिष्टाचार भेटको सुरुमा मन्त्रीले महामारीको रूपमा फैलिइरहेको कोभिड-१९ संक्रामक रोगलाई नियन्त्रण गर्न नेपाल सरकारको तर्फबाट भइरहेका कार्यबारे प्रकाश पार्नुभयो’, विज्ञप्तिमा भनिएको छ, ‘कोरोना संक्रमण नियन्त्रणमा नेपाल सरकारले उच्च सतर्कता अपनाएर कार्य गरिरहेको बताउनुभयो।’

संक्रमणलाई जथाभावी फैलन नदिन सीमा नाकामा निगरानी बढाइएको¸ विदेशबाट नेपाल आउनेहरूलाई क्वारेन्टाइन र आइसोलेसनमा राख्ने व्यवस्था मिलाइएको, मास्क लगाएर तथा सामाजिक दूरी कायम गरेर मात्र सार्वजनिक कार्यालयमा काम काज गर्ने व्यवस्था मिलाइएको बताएका छन्।

कोभिड-१९ संक्रमणको संख्यालाई बढ्न नदिन तीनै तहका सरकारले आपसमा समन्वय गरी कार्य गरिरहेको मन्त्री पोखरेलले प्रष्ट पारेका छन्। पोखरेलले अमेरिकामा कोभिड-१९ संक्रमणका कारण भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

भेटमा अमेरिकी राजदूतले नेपालले कोभिड-१९ रोगको नियन्त्रणका लागि गरेका प्रयासको सह्राहना गर्दै संक्रमणलाई नियन्त्रण बाहिर जान नदिन सामाजिक दूरी कायम गर्ने लगायतका उपायलाई प्राथमिकतासाथ अवलम्बन गर्न उपयोगी हुने बताए।

भेटका अवसरमा रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा काठमाडौं अमेरिकी राजदूतावासका अधिकारीको समेत उपस्थिति थियो। अन्नपूर्ण पोष्ट दैनिक अनलाईनबाट

Facebook Comments