Sat. May 18th, 2024

भर्नाका लागि एम्बुलेन्समा पर्खदा पर्खदै कोशी अस्पतालमा एकजनाको मृत्यु

काठमाडौं, २०७७ साउन ९ गते शुक्रबार

विराटनगरस्थित कोशी अस्पतालको आकस्मिक कक्षले तत्काल विरामीलाई भर्ना गराएर उपचार नगर्दा विरामीको एम्बुलेन्समै मृत्यु भएको छ ।

अस्पतालको आकस्मिक कक्ष बाहिर ल्याएर एक घण्टासम्म विरामीलाई पर्खाउँदा उहाँको अस्पताल परिसरमै एम्बुलेन्समा मृत्यु भएको हो । उदयपुरको कटारी नगरपालिका-५ बाट एम्बुलेन्समा राखेर शुक्रबार उपचारका लागि विराटनगर ल्याइएका २३ बर्षीय पदमबहादुर राईको ज्यान गएको छ । राईलाई स्वास फेर्न समस्या भएपछि स १ च १२०५ नम्बरको एम्बुलेन्सबाट कोशीमा ल्याइएको थियो ।

विरामी लिएर दुईजना महिलाहरु आएका थिए । आफूले ल्याएको विरामीको एम्बुलेन्समै मृत्यु भएपछि उहाँहरु हतास् हुनभएको छ । चालक सुवास तामाङका अनुसार २.४५ बजे अस्पताल परिसरमा आईपुगेको एम्बुलेन्सबाट विरामी झार्न अस्पताल प्रशासनले अस्वीकार गरेको थियो । त्यसको एक घण्टापछि मृत्यु भएको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दासले विरामी ‘क्रिटिकल’ अवस्थामा देखिएकोले धरान पठाउन रेफर गरिएको थियो । तत्काल धरान पठाउन समन्वय गरिरहेको अवस्थामा विरामीको मृत्यु भएको मेसु दासको दावी छ । मेसु दासले कोशी कोभिड-१९ उपचार केन्द्रका इन्चार्ज डा.दिपक सिग्देलसँग परामर्श गरेपछि धरान पठाउनु पर्ने निष्कर्ष निकालिएको जानकारी दिनुभयो । अस्पताल परिसरमै विरामीको मृत्यु भएपछि स्वाब संकलन गरेर परीक्षण गरिने भएको छ । साथै विरामी लिएर आएका दुईजना महिला र चालकको समेत स्वाब संकलन गरिने भएको छ ।

यसैगरी कोशी अस्पताल विराटनगरमा भर्ना भएकी एक महिलाको आईसोलेसन वार्डमा मृत्यु भएको छ । सुनसरीको इनरुबाट बिहीबार अस्पताल ल्याएर भर्ना गरिएकी ४० बर्षीया जंगलीदेवी सरदारको कोशी अस्पतालकै आइसोलेशनमा मृत्यु भएको हो ।

मृतक सरदारको कोरानाको लक्षण देखिएपछि कोशीको आईसोलेसनमा भर्ना गरिएको मेडिकल सुपरीटेन्डेन्ट डाक्टर चुमनलाल दासले बताउनुभयो । मृतक सरदारको स्वाब कलेक्सन गरेर परीक्षण गराईने मेसु दासले जानकारी दिनुभयो । गोरखापत्र अनलाईनबाट

Facebook Comments