Sun. May 5th, 2024

मुख्यमन्त्री राई भन्छन्-‘कोरोना महामारीका कारण प्रदेश १ को नामांकन रोकियो’

काठमाडौं, २०७७ साउन ९ गते शुक्रबार

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कोरोना महामारीका कारण प्रदेश १ को नामाकनको काम रोकिएको बताउनु भएको छ ।

सरकारले चालू अधिवेशनबाट नामको टुंगो लगाउने बताउँदै आउनु भएका मुख्यमन्त्री राईले शुक्रबार जारी अधिवेशनको अन्तिम बैठकमा कोरोना भाइरसका कारण नाम राख्न नसकिएको बताउनु भयो । भाइरसको कारणले नामका बारेमा खुलेर छलफल गर्ने वातावरण बन्न नसकेको राईको भनाई थियो ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबारे बोल्दै मुख्यमन्त्री राईले प्रदेश १ मा समुदायस्तरमै कोरोना फैलिएको बताउनु भयो ।

प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि निरन्तर काम गरिरहेको बताउँदै उहाँले भन्नुभयो, ‘संक्रमण जनस्तरमा पुग्यो भन्नेमा हामी पुगेका छौं ।’

कोरोना संक्रमण नियन्त्रणमा प्रदेश सरकार सफल भएको बताउँदै उहाँले नागरिकले पनि सतर्कता अपनाउनु पर्ने बताउनु भयो।

मुख्यमन्त्री राईले अब कोरोना जाँचलाई समुदायस्तरमा लैजाने बताउनु भयो। लकडाउन अन्त्य भएपछि समुदायमा संक्रमण फैलने सम्भावना बढेकाले सावधानी अपनाउन उहाँले आग्रह गर्नुभयो ।

प्रदेश १ को वार्षिक खर्च प्रगतिले विषम परिस्थितिमा पनि काम गर्न सकिन्छ भन्ने प्रमाणित गरेको बताउँदै राईले चालु र पुँजीगत तर्फ ७१ प्रतिशत बजेट खर्च गरेको बताउनु भयो।

प्रदेश १ को बजेट अधिवेशनमा ३७ बैठक बसेको थियो । कोरोना महामारीका कारण दुईवटा कोठामा स्क्रिन सेयरिङ्का आधारमा जम्मा ६२ घण्टा ३० मिनेट बैठक बसेको थियो । अनलाईन खवरबाट

Facebook Comments