Tue. Oct 22nd, 2024

हवाई उडान अनियमित हुँदा यात्रुहरू समस्यामा   

गुल्मी, २०८१ कात्तिक ६ गते मंगलबार । विगत चार महिनादेखि गुल्मीमा हवाई उडान पटकपटक अवरुद्ध बनेको छ । गत असारको दोस्रो सातादेखि जिल्लामा हवाई उडान प्रभावित भइरहेको छ । खराब मौसमका कारण लामो समयसम्म यसरी हवाई सेवा नियमित हुन नसकेपछि यात्रु थप समस्यामा परेका छन् ।

टिकट काटेर पनि पटकपटक विमानस्थल पुगेर घण्टौँसम्म पर्खिनुपर्ने तर अन्तिम उडान स्थगित हुँदा निकै सास्ती पाइएको यात्रुहरूले बताउने गरेका छन् । चाडपर्वको समयमा समेत लगातार उडान अवरुद्ध भइरहेका छन्, जसले नागरिक आक्रोसित छन् ।

राससका अनुसार बाक्लो कुहिरो लागेर मौसममा खराबी आउने गरेकाले गत असार १४ गतेदेखि उडान सेवा अवरुद्ध बनेको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले बताउनुभयो । साताको दुई पटक नियमित उडान हुँदै आएकामा नेपाल एयरलाइन्सले प्रतिकूल मौसमका कारण उडान गर्न नसकेको उहाँले जानकारी दिनुभयो । “मौसम खराबीकै कारण गत असारको दोस्रो सातादेखि जिल्लामा जम्मा पाँच वटा मात्र हवाई उडान भएका छन् । मौसम ठिक होला भन्ने अपेक्षासहित रेसुङ्गा‐काठमाण्डू र काठमाण्डू‐रेसुङ्गा आवतजावतका लागि टिकट काटे पनि अन्तिममा स्थगन हुँदाको समस्या हामीले महुसस गरेका छौँ तर मौसमको अवस्था हाम्रो नियन्त्रणमा हुँदैन”, स्टेशन प्रमुख थापाले भन्नुभयो ।

गुल्मी‐काठमाण्डूका लागि नेपाल वायुसेवा निगमको १८ सिट क्षमताको ट्वीनेटर जहाजले उडान गर्दै आइरहेको छ । यात्रुको चापका कारण साताको चार पटकसम्म यहाँ उडान हुँदै आएको थियो ।
नेपाल वायुसेवा निगमले रेसुङ्गादेखि काठमाण्डूका लागि सात हजार तीन सय र काठमाण्डूबाट रु सात हजार पाँच सय रुपैयाँ भाडा निर्धारण गरेकोे छ । जिल्लामा गत एक वर्षअघिदेखि व्यावसायिक रुपमा नियमित रुपमा हवाई उडान सुरु गरिएको हो ।

Facebook Comments