Fri. Oct 18th, 2024

चौखा सव स्टेशन सञ्चालनमा

काठमाण्डू, २०८१ कात्तिक १ गते बिहीबार । जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नम्वर १२ चौखामा निर्माण भएको सबस्टेसनको सफल परीक्षण भएको छ ।

३३÷११ केभी विद्युत प्रसारणलाइन दुईवटा जिल्लामा पु¥याउन नेपाल विद्युत प्राधिकरणको झण्डै १० करोड लागतमा सबस्टेसन निर्माण भएको हो ।

नेपाल विद्युत प्राधिकरणसँग वाइबा इन्फ्राटेक प्रालिले उक्त सबस्टेसन निर्माण गर्नका लागि सम्झौता गरेको थियो । निर्धारित लक्ष्य अनुसार नै सबस्टेसन चार्जिङ काम सफल भएको वाइबा इन्फ्राटेक प्रालिका वरिष्ठ सर्वेक्षक करुण शाहीले जानकारी दिनुभयो । जाजरकोटको कुदुबाट आएको प्रसारणलाइन चौखासम्म निर्माण नभएका कारण रुकुम पश्चिमको बाफिकोट सबस्टेसनबाट आएको विद्युतबाट चार्जिङ गरिएको छ । जाजरकोट खण्डको लामो समयदेखि प्रसारण लाइनको काम नहुँदा सबस्टेसनसम्म विद्युत लिन रुकुम पश्चिमको बाफिकोटस्थित सबस्टेसनबाट आएको विद्युत प्रयोग गर्नुपर्ने बाध्यता छ ।

यो सबस्टेसन निर्माणसँगै जाजरकोट खण्डमा पनि प्रसारणलाइन निर्माण गर्न दबाब बढेको छ । ताक्सुगाड जलविद्युत आयोजनाको विद्युत उत्पादन गृहको छेउमै यो सबस्टेसन निर्माण भएको हो । यही सबस्टेसनबाट जगदुल्ला जलविद्युत १०६ मेगावाट आयोजना निर्माणस्थलमा विद्युत लिने लक्ष्य राखिएको छ ।

त्यस्तै डोल्पाको त्रिपुराकोटमा निर्माण हुन लागेको सबस्टेसनमा समेत यही चौखाबाट विद्युत जडान गरिने छ । तल्लो डोल्पाका साथै पूर्वी जाजरकोटको अधिकांश ठाउँमा विद्युतीकरण गर्नका लागि यो सबस्टेसनले काम गर्ने नेपाल विद्युत प्राधिकरण प्रदेश कार्यालयले जानकारी दिएको छ । रासस

Facebook Comments