Mon. Apr 29th, 2024

देश र पार्टी दुर्घटनाबाट जोगाउन अन्तिम समयसम्म पहल गर्छु : प्रचण्ड

काठमाडौं, २०७७ असार २७ गते शनिबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश वा पार्टीलाई दुर्घटनाबाट जोगाउन आफूले अन्तिम समयसम्म पहल गर्ने बताएका छन्।

शनिबार चितवन आएका प्रचण्डले माडीमा आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। ‘हतारमा केही कुरा गरेर भोलि फुर्सदमा पछुताउनु पर्ने अवस्था नआओस् भन्नेमा हामी सतर्क छौँ। मैले देश दुर्घटनामा जाने वा पार्टी दुर्घटनामा जाने कुनै गतिविधि हुन नदिनको निम्ति अन्तिम समयसम्म धैर्यपूर्वक पहल गर्ने विश्वास दिलाउँछु’, प्रचण्डले भने।

प्रचण्डले कार्यककर्तालाई विचलित नहुनसमेत आग्रह गरेका छन्। ‘देशलाई राजनीतिक स्थायित्व दिने, कम्युनिस्ट पार्टी नेतृत्वमा विकास र समृद्धिको नयाँ यात्रा तयार गर्ने, समाजवादको आधार स्थापित गर्ने लक्ष्यका साथ पार्टी एकता गरेका हौँ। एकता प्रक्रिया अगाडि लाने प्रतिवद्धता संकल्पनसहित साझ उम्मेदवार र साझा घोषणापत्रसहित चुनाव लड्यौँ’, प्रचण्डले भने, ‘पार्टी एकता गरिछाड्छौँ भनेर तपाईंहरुका अगाडि उभिएर बोलेका थियौँ। त्यसैको कारण जनताले विश्वास गरेर दुई तिहाइको बहुमतसहित सरकार र विकासको नेतृत्व गर्ने अवसर दिए। देशलाई कही कसैले कुनै बहानामा कमजोर पार्नु हुँदैन भन्नेमा दृढ छौँ।’

उनले सकारात्मक सोचले मात्र पार्टीले लडाईं जित्ने प्रष्ट पारे। ‘सकारात्मक सोचका साथ समाजलाई अग्रगामी सहजता दिन सक्छौँ भन्ने बुझिदिनुभयो भने परिवर्तनको लडाईं सहज हुन्छ’, उनले भने, ‘सकारात्मक सोचले मात्र जितिन्छ र पार्टीलाई एकता गर्न सकिन्छ।’

उनले आफूले निर्णय गर्न हतार गर्दा देश वा पार्टी दुर्घटनामा पर्न सक्ने भएकाले हतार नगरेको उल्लेख गरे। पार्टीको आन्तरिक विवादबारे पहिलो पटक सार्वजनिक कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन्।

‘म पार्टीको एउटा अध्यक्ष। मैले देश दुर्घटनामा जाने वा पार्टी जाने गतिविधि हुन नदिन अन्तिम समसयसम्म पहल गर्ने विश्वास दिलाउन चाहन्छु’, प्रचण्डले भने, ‘मैले हतार गर्न खोजेको भए दुर्घटना हुन्थ्यो वा के हुन्थ्यो भन्न सक्दिनँ।’

उनले कोरोना संकटको समयमा पार्टीभित्र खेल्ने काम भएको आरोप लगाए। एकातिर प्रधानमन्त्री केपी ओलीलाई छोड्नु हुन्न भन्ने र अर्कोतिर प्रचण्डलाई छोड्नु हुन्न भन्नेले पार्टीभित्र खेलेको आरोप उनको छ। प्रतिक्रियावादीले यसरी खेलेको बताए पनि ति प्रतिक्रियावादी को हुन् भनेर उनले खुलाएनन्।

‘यो समयमा पार्टीभित्रको विवाद चर्काएर केही केपी ओलीलाई छोड्नु हुन्न भनिरहेका छन्। अर्कोतिर प्रचण्डलाई छोड्नु हुन्न भन्ने पनि देखिएको छ’, प्रचण्डले भने, ‘तपाईंहरु त्यस्तोमा नलागिदिनुहोस्। हामी जित्छौँ  ।’

प्रचण्डले प्रधानमन्त्री एवम् अर्का अध्यक्ष ओलीसँगको पछिल्लो भेट सकारात्मक भएको भन्दै छिट्टै समस्या समाधान हुने बताए। उनले सकडकका गतिविधि अनावश्यक भएको बताए।

शनिबार प्रचण्डले भरपुर महानगरपालिका २७ र २८ को सीमाक्षेत्रमा शुक्रबार बाढीले भत्काएको बाँधको अवलोकनसमेत गरे ।

प्रचण्डले बाढी प्रभावित क्षेत्रको अवस्थाबारे प्रधानमन्त्री र गृहमन्त्रीलाई जानकारी गराउने आश्वासन स्थानीय र बाढी पीडितलाई दिएका छन्। सँगै उनले चितवन आउनुअघि प्रधानमन्त्री केपी ओलीसँग बाढी र पहिरोले क्षति पुर्याएका ठाउँमा राहत र उद्दार कसरी गर्ने भन्ने विषयमा छलफल भएको र फेरि काठमाडौं फर्किएपछि छलफल हुने बताएका थिए।

उनले नारायणी नदीको कटान रोक्नका लागि आवश्यक काम भइरहेकाले बताएका छन्। शुक्रबार नारायणीले कटान गरेको क्षेत्रको  निरीक्षण गर्दै उनले तत्काल अस्थायी समाधानको काम भइरहेको बताएका हुन्।

 प्रचण्डले आफू निर्वाचित भएपछि नै राप्ती र नारायणीमा तटबन्धसहितको चक्रपथको काम अघि बढेको र अहिले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)  तयार भएको बताए। उनले डीपीआर र वातावरणीय प्रभाव मूल्यांकनको कार्य भइरहेको प्रष्ट पारे।

बजेटका लागि अर्थमन्त्रालयसँग कुरा भइरहेको उनको भनाइ छ।  प्रचण्ड त्यहाँको बाढी प्रभावित क्षेत्रको अवलोकन गरेर माडीको कार्यक्रममा सहभागी भएका हुन्। उनले माडी क्षेत्रको विकासका लागि काम भएकोसमेत बताएका छन्।

नेकपा अध्यक्ष प्रचण्ड र अर्का अध्यक्षसमेत रहेका प्रधानमन्त्रीसँगको द्वन्द्व चर्किदै गएपछि नेकपाले साउन २ गतेसम्मका लागि स्थायी समिति बैठक स्थगित गरेर बाढी पहिरो प्रभावित क्षेत्रमा उद्दार र राहतमा लाग्न समग्र पार्टी पंक्तिलाई अनुरोध गरेको छ। अन्नपूर्ण पोष्ट दैनिक अनलाईनबाट

Facebook Comments