Thu. May 9th, 2024

म्याग्दीमा पहिरोमा हराइ रहेका २७ जनाको शब भेटियो

- उदयपुरमा बाढीको उच्च जोखिम, उद्धारका लागि स्थानीय प्रशासन पूर्वतयारीमा

काठमाडौं, २०७७ असार २७ गते शनिबार

हिमाली जिल्ला म्याग्दीको विभिन्न स्थानमा पहिरोमा परि बेपत्ता भएका मध्ये २७ जनाको सव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकृत इन्सपेक्टर डाक्टरप्रसाद चौधरीले दिएको जानकारी अनुसार रघुगंगा गाउँपालिका-६ पाखापानीको ठाडाखानीमा खोलाले बगाएका नलिमान छन्त्यालकोको सब शुक्रबार फेला परेको हो ।

त्यसैगरी मालिका गाउँपालिका-७ बिममा पहिरोमा परि बेपत्ता भएका मध्ये ४० वर्षिया विष्णु पौडेल, ४ वर्षिय इच्छा पौडेल,गौदेवी नेपाली, विशेष नेपाली, विरवहादुर नेपाली, बिरबहादुरका ३ महिनाका छोरा, विष्णु नेपाली र सन्दीप नेपालीको सव फेला परेको छ ।

त्यस्तै धौलागिरी गाउँपालिका-६ मराङका तुलबहादुर क्षेत्री, सुकना लामगादे, आशिस लामगादे, आयुस लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली र जनिमा केसीको छोरा प्रकाश के.सी, हिरामति जुग्जाली, करिश्मा जुग्जाली, कञ्चन जुग्जाली, गौशरा जुग्जाली, दिमा जुग्जाली, दिप्ती जुग्जाली, दिवान जुग्जालीको सव फेला परेको छ ।
शुक्रबार बेपत्ता भएका धनबहादुर जुग्जाली, रितुकुमारी जुग्जाली र अर्जुन जुग्जाली सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी किरणजंग कुबरले बताउनुभयो ।

पहिरोमा परि घाइते भएका १२ जनाको उद्धार गरीएको छ । बिहीबार राती देखिको वर्षात्ले गर्दा शुक्रबार प्रयास गर्दा नसकिए पनि शनिबार बिहान मात्रै हेलिकोप्टर मार्फत उद्धार गरीएको थियो ।

धौलागिरी गाउँपालिका-६ मराङकी सुत्केरी अवस्थाकी महिला मन्जिता श्रीपाली, उनका छोरा ७ वर्षिय सफल श्रीपाली, मालिका गाउँपालिका–७ बिमका पूर्ण परियार र धौलागिरी गाउँपालिका–७, ताकमका सतदेवी बिटालु र मालिका-६ दरवाङका बालसिंह रोकालाई बेनी अस्पतालमा उपचार पछि थप उपचारका लागि पोखरा पठाइएको छ ।

धौलागिरी गाउँपालिका-६ मराङका गौमती सुनार, धनबहादुर जुग्जाली, अंकित जुग्जाली, विर्सना जुग्जाली, दीपक सिर्पाली र धौलागिरी गाउँपालिका–७ ताकमका हरिबहादुर बिटालुको बेनी अस्पतालमा उपचार भै रहेको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले बताउनुभयो । त्यस्तै धौलागिरी गाउँपालिका-६ मराङका कुशल पुन बेनी अस्पतालमा उपचार पछि डिस्चार्ज भएका छन् ।

त्यस्तै धौलागिरी गाउँपालिकाका जोखिममा रहेका ५९० जना, रघुगंगा गाउँपालिका-३, गलेश्वर राहुघाट खोला नजिकैको बस्तीका २१ घरका ८५ जना, मालिका गाउँपालिबाट १९६ जनालाई र बेनी नगरपालिकाका जोखिममा रहेका २५ जना गरेर ८९६ जनालाई सुरक्षित स्थानमा राखिएको इन्सपेक्टर चौधरीले जानकारी दिनुभयो ।

शनिबार बिहानबाट प्रभु एयरको हेलिकोप्टर मार्फत उद्धार थालिएको थियो । जिसी ग्रुप म्याग्दीका नारायण जि.सी. र ओमकुमारी शान्ति कोषको आर्थिक व्यवस्थापनमा प्रभुको हेलीकोप्टरले उद्धार थालेका हुन् । त्यस्तै नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको टोली सहित घटनास्थलमा सांसद भूपेन्द्र थापा, नवराज शर्मा, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, डिएसपी किरणजंग कुँबर, नेपाली सेनालगायतको टोली पुगेको थियो । त्यस्तै अनेरास्ववियू केन्द्रीय सदस्य प्रकाश पौडेल नेतृत्वमा बेनीका अखिलका टोली पनि मराङमा उद्धारका लागि पुगेका छन् ।

उदयपुरको सदरमुकाम गाईघाट बजार जलमग्न

यसैगरी दुई दिनदेखि परेको अविरल वर्षासँगै स्थानीय खोलाहरूमा आएको बाढीले उदयपुरको सदरमुकाम गाईघाट बजार जलमग्न भएको छ । जिल्लाका त्रियुगा, बरुवा, ककरु, तावा र यारी लगायत दर्जनौँ खोलामा पानीको बहाव उच्च भएसँगै बाढीको जोखिम बढेको छ ।

अविरल वर्षाबाट जिल्लाको जनजीवन चौतर्फी रुपमा प्रभावित भएको छ । स्थानीय बरुवा र त्रियुगा खोलामा आएको बाढीले कतिपय स्थानमा तटबाँध बगाउँदा गाईघाट पूर्वको बस्तीहरू उच्च जोखिममा परेकन छन् । त्रियुगा नगरपालिका वडा नं ११ को असारी रोड र बरुवा बसपार्क क्षेत्रमा स्थानीय बासिन्दाका दर्जन बढी घरहरू डुबानमा परेका छन् । यसैबीच पानी पर्ने क्रम अझै नरोकिएको र जोखिम झन बढ्दै गएको भन्दै जिल्ला विपद् व्यवस्थपन समितिका अध्यक्ष एवम उदयपुरका निमित्त प्रमुख जिल्ला अधिकारी शशीकुमार लम्सालले कुनैपनि बेला हुनसक्ने विपतिबाट सर्वसाधारणलाई तत्काल राहत र उद्धारका लागि स्थानीय प्रशासन तयारी अवस्थामा रहेको बताउनुभयो ।

निमित्त प्रजिअ लम्सालले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितको टोलि उच्च सतर्कतासाथ तयारी अवस्थामा रहेको र हालसम्म गाईघाट आसपासका केही स्थानमा पानीको डुबान सुरु भएको, सप्तकोसीको बाढीले बेलका नगरपालिकाको विभिन्न स्थानमा कटान गर्न थालेको भन्ने जानकारी प्राप्त भएको बताउनुभयो ।

अहिले पनि मुसल्धारे पानी परिरहेकोले बाढी र पहिरोको जोखिम बढ्नसक्ने भएकोले सबै स्थानीय निकायसँगको सूचना स्राेत बलियो बनाइएको, पीडितहरूको तत्काल उद्धार राहतका लागि पूर्णरुपमा आफूहरू तयारी अवस्थामा रहेको र उच्च जोखिम भनिएका क्षेत्रहरूमा सुरक्षाकर्मीको टोलीसमेत परिचालन गरिसकिएको निमित्त प्रजिअ लम्सालले बताउनुभयो । गोरखापत्र अनलाईनबाट

Facebook Comments