Sun. May 19th, 2024

बाढीले सिन्धुपाल्चोकस्थित मध्यभोटेकोशी हाइड्रोमा क्षति, एक चिनियाँ नागरिक बेपत्ता

काठमाडौं, २०७७ असार २५ गते बिहीबार

बुधबार राति सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आएको बाढीले मध्यभोटेकोशी जलविद्युत् आयोजना क्षेत्र डुबानमा परेको छ । निर्माणाधीन १०२ मेगावाटको सो हाइड्रोपावरमा अर्बौंको क्षति पुगेको छ । एक जना चिनियाँ प्राविधिक बेपत्ता भएको आयोजना प्रमुख सुनिलकुमार लामाले जानकारी दिनुभयो ।

गोरखापत्र अनलाईनका अनुसार आयोजनाका लागि आवश्यक उपकरण राख्ने गरिएको भण्डार केन्द्रसमेत बाढीले क्षतिग्रस्त पारेको छ । उहाँले भन्नुभयो, “आयोजनाका लागि तीन वटा टर्बाइन रनर, जीआइएस र जिटी (जेनेरेटर ट्रान्सफर्मर) बाहेक सबै उपकरण ल्याएर त्यहाँ राखिएको थियो । ती सबै बाढीले बगाएको अनुमान छ । ”

बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले आयोजनामा व्यापक क्षति भएको बताउनुभयो । “ड्याममा क्षति भएको छ । पावर हाउसमा पहिरो गएको छ । आयोजनाका सामान राखेको गोदाम केही बगाएको छ भने केही पुरिएको छ”, उहाँले भन्नुभयो । मध्यभोटेकोशी आयोजनामा पुरिएका सामान क्रेनले निकाल्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

Facebook Comments