Tue. Dec 24th, 2024

हेजबुल्लाहका सदस्यले प्रयोग गर्ने ‘पेजर’ विस्फोट हुँदा नौ जनाको मृत्यु, दुई हजार ८०० जना घाइते   

बेरूत, लेबनान, २०८१ असोज २ गते बुधबार ।  लेबनानमा इरान समर्थित लडाकु समूह हेजबुल्लाहका सदस्यहरूले एकआपससँग सञ्चार गर्न प्रयोग गर्ने हाते पेजरहरू विस्फोट हुँदा एक बालकसहित कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै २ हजार ८०० जना घाइते भएका छन् ।
उक्त विस्फोटबाट क्षती बेहोरेको आतङ्कवादी समूहले इजरायललाई आक्रमणको दोषी ठहराएको छ ।

इजरायली आक्रमणमा प्रमुख कमाण्डर गुमाएपछि हेजबुल्लाहले आफ्नो सञ्चार सुरक्षाको बारेमा पहिले नै चिन्ता व्यक्त गरेको थियो ।

मङ्गलबार दिउँसो तीन बजे हेजबुल्लाह सदस्यहरूले बोकेका सयौं पेजिङ सञ्चार उपकरणहरू लेबनानमा विस्फोट हुन थालेका थिए ।

हेजबुल्लाहले घटनालगतै इजरायलाई दोष लगाएता पनि इजरायलले भने आक्रमणको बारेमा अहिलेसम्म कुनै टिप्पणी जारी गरेको छैन ।

लेबनानका केही अस्पतालहरूमा हताहतको सङ्ख्या बढेको स्रोतले जनाएको छ ।

इजरायलले लेबनानसँगको उत्तरी मोर्चालाई सुरक्षित गर्न प्यालेस्टिनी उग्रवादी समूह हमाससँगको युद्धमा आफ्नो लक्ष्य विस्तार गरिरहेको मङ्लबार घोषणा गरेको थियो ।

अक्टोबरको आक्रमणपछि इजरायलले प्यालेस्टिनी उग्रवादीले लिएका बन्धकलाई घर ल्याउने र हमासलाई दमन गर्ने वाचा गरेको थियो ।

अक्टोबरदेखि हेजबुल्लाहले पनि लेबनान-इजरायल सीमामा इजरायली सेनासँग लगभग दैनिक गोलीबारी गरेको छ ।

औपचारिक रूपमा युद्धको घोषणा नगरिएता पनि लेबनान मोर्चामा भएको झडपले अधिकाशं लडाकु र सैन्य कर्मचारी सहित सयौंको ज्यान लिएको लिएको छ ।

हेजबुल्लाहको नजिकको स्रोतका अनुसार विस्फोट भएका पेजरहरू हेजबुल्लाहले भर्खरै आयात गरेको थियो । एएफपी

Facebook Comments