Mon. Dec 23rd, 2024

प्रधानमन्त्रीद्वारा राष्ट्रिय शिक्षा पुरस्कार वितरण   

काठमाण्डू, २०८१ असोज २ गते बुधबार । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्कृष्ट हुने क्याम्पस तथा विद्यालयलाई ‘राष्ट्रिय शिक्षा पुरस्कार’बाट पुरस्कृत गर्नुभएको छ ।

राष्ट्रिय शिक्षा दिवसका अवसरमा आज यहाँ आयोजित गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट क्याम्पस र विद्यालयलाई ‘राष्ट्रिय शिक्षा पुरस्कार’बाट पुरस्कृत गर्नुभएको हो । यस वर्ष उत्कृष्ट क्याम्पस राष्ट्रिय पुरस्कार कास्कीको लेखनाथस्थित स्कूल अफ बिजनेसले पाएको छ । उक्त क्याम्पसले रु दुई लाख ५० हजार पुरस्कार प्राप्त गरेको हो ।

यस्तै, सामुदायिक क्याम्पसतर्फ ललितपुरको चापागाउँस्थित जनभावना क्याम्पस र निजी क्याम्पसमध्येबाट काठमाण्डूको मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सेज पुरस्कृत भएका छन् । दुवैले जनही रु दुई लाख ५० हजारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

यस्तै, सार्वजनिक विद्यालयतर्फ २०८० सालको माध्यमिक शिक्षा परीक्षामा प्राप्त गरेको नतिजाका आधारमा दाङको तुलसीपुरस्थित तुलसीपुर माविले प्रथम स्थान हासिल गर्दै राष्ट्रिय शिक्षा पुरस्कार पाएको छ । उक्त विद्यालयले नगद रु तीन लाखसहित शिल्ड, ध्वजा र प्रमाणपत्र प्राप्त गरेको छ ।

यस्तै, विश्वनिकेतन मावि काठमाण्डूले द्वितीय स्थान हासिल गर्दै रु दुई लाखसहित शिल्ड, ध्वजा र प्रमाणपत्र प्राप्त गरेको छ । तृतीय हुने दाङको शान्तिनगरस्थित जनकल्याण माविले रु एक लाखसहित शिल्ड, ध्वजा र प्रमाणपत्र पाएको छ ।

यस्तै, निजीतर्फ २०८० सालको माध्यमिक शिक्षा परीक्षामा प्रथम हुने काठमाण्डूको टोखा नगरपालिका–८ स्थित फलोसेन्ट माविले रु तीन लाखसहित शिल्ड, ध्वजा र प्रमाणपत्र पाएको छ । द्वितीय हुने बिजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय काठमाण्डूले रु दुई लाखसहित शिल्ड, ध्वजा र प्रमाणपत्र तथा तृतीय हुने काठमाण्डूकै बूढानीलकण्ठ स्कूलले रु एक लाखसहित शिल्ड, ध्वजा र प्रमाणपत्र प्राप्त गरेको छ ।

सयैगरी प्राविधिक शिक्षालयतर्फ सर्वोत्कृष्ट नतिजा ल्याउने नेपाल बनेपा बहुप्राविधिक बनेपा, काभ्रेपलाञ्चोक, तुलसीपुर पोलिटेक्निक इन्स्टिच्युट तुलसीपुर, दाङ, जनता मावि वाणगङ्गा, कपिलवस्तु र नेपाल आर्मी कलेज अफ हेल्थ साइन्स, काठमाण्डूलाई रु एक लाखसहित राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरिएको छ । ती शिक्षालयलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट सञ्चालन गरेको परीक्षामा सर्वोकृष्ट नतिजा ल्याएका आधारमा पुरस्कृत गरिएको हो ।

यस्तै, दिवसकै अवसरमा समाज कल्याण शिक्षा पुरस्कार युवा क्रियाकलाप उत्थान केन्द्र कागेश्वरी मनहरा र सी आशा फाउन्डेसन ललितपुरलाई प्रदान गरिएको छ । ती दुवैलाई जनही रु दुई लाखसहित प्रमाणपत्र प्रदान गरिएको छ ।

सोही अवसरमा प्रधानमन्त्री ओलीले शैक्षिक स्मारिका-२०८१ विमोचन गर्नुभयो । रासस

Facebook Comments