थप ५३८ सङ्क्रमित, कुल दश हजार ९९, थप एककाे मृत्यु
काठमाडौं, २०७७ असार ९ गते मंगलबार
पछिल्लो २४ घण्टामा नेपालमा थप ५३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थप सङ्क्रमितमध्ये ४४८ जना पुरुष र ९० जना महिला रहेका छन् ।
योसँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या पुगेको दश हजार ९९ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलबार गरेकाे पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे ।
७६ जना डिस्चार्ज
यस्तै, थप ७६ जना निकाे भएर डिस्चार्ज भएका छन् । मङ्गलबार मात्रै आठ महिला र ६८ पुरुष डिस्चार्ज भएका हुन् । कुल डिस्चार्ज हुनेकाे सङ्ख्या दुई हजार २२४ पुगेकाे छ, जसमा १८९ महिला र २,०३५ पुरुष छन् ।
रेड जाेन
रेड जाेनमा काठमाडाैँ र ललितपुरका एक/एक जना थपिएसँगै सङ्ख्या ५०८ पुगेकाे छ ।
थप एक मृत्यु
त्यस्तै दैलेखका ४५ वर्षका एक जना पुरूष काेराेनाका कारणले मृत्यु भएकाे बताउनुभयाे । याेसँगै मृत्यु हुनेकाे सङ्ख्या २४ पुगेकाे छ ।
रसुवा जिल्लामात्रै सुरक्षित
गोरखापत्र अनलाईनका अनुसार नेपालमा कोरोना भाइरस फेला परेका जिल्लाहरूको सङ्ख्या ७६ छ । देशभरका ७७ जिल्लामध्ये बाग्मती प्रदेशको रसुवा जिल्लाबाहेक सबै जिल्लामा कोरोना सङ्क्रमण फैलिएको छ ।