Wed. Oct 23rd, 2024

उच्च अदालत बार एशोसिएसन पाटनको कार्यसमितिमा बिदुर प्रसाद ढुंगानाको पुरै प्यानल विजयी

रमेश हुतवाली/काठमाण्डू, २०८१ भदौ २ गते आइतबार । उच्च अदालत बार एशोसिएशन पाटनको कार्यसमितिको हिजो शनिबार सम्पन्न निर्वाचनमा पिपिएलए र आरपिएलए समुहका अध्यक्ष पदका उम्मेदबार अधिबक्ता बिदुर प्रसाद ढुंगानाको पुरै प्यानल अत्यधिक बहुमतका साथ बिजयी भएको छ ।

प्रमुख निर्वाचन अधिकृत रामचन्द्र सिम्खडाका अनुसार अधिवक्ता बिदुर प्रसाद ढुंगाना १ हजार १ सय ४० मत प्राप्त गरी अध्यक्ष पदमा बिजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी समाजवादी तथा लोकतान्त्रिक पेशागत कानून व्यवसायी समूहका अधिवक्ता गोपाल श्रेष्ठले ४९० मत प्राप्त गर्नुभएको छ । उपाध्यक्ष पदमा अधिवक्ता विष्णुॠषि कोइराला १ हजार १ सय ४२ मत माप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी अधिवक्ता दुर्गा प्रसाद चिमरियाले ४ सय ४० मत प्राप्त गर्नुभएको छ । सचिव पदका उम्मेदवार अधिवक्ता प्रवल शर्मा १ हजार १ सय ५१ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम् प्रतिस्पर्धी अधिवक्ता देवी प्रसाद रिजालले ४ सय ३० मत प्राप्त गर्नुभएको छ । सहसचिव पदका उम्मेदवार अधिवक्ता शुसिला चौधरीले १ हजार १ सय ४३ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम् प्रतिस्पर्धी अधिवक्ता एशोदा कुमारी पाण्डेले ४ सय ३२ मत प्राप्त गर्नुभएको छ । कोषाध्यक्ष पदका उम्मेदवार अधिवक्ता भुपाल बस्नेत १ हजार १ सय ४५ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम् प्रतिस्पर्धी अधिवक्ता लक्ष्मी रेग्मीले ४ सय ३१ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी निर्वाचित हुने महिला सदस्यहरुमा विमला कुमारी शर्मा, जितिन्द्रा विष्ट जितु र पुष्पा भुसाल विमलीले क्रमश ११७३, १०३५, ११५४ मत प्राप्त गर्नुभएको छ ।

निर्वाचित हुने अन्य ११ जना सदस्यहरुमा अधिवक्ता चित्र बहादुर कुताल (विष्ट) १२१७, अधिवक्ता रामानन्द चौधरी थारु (राजु) १२२०, अधिवक्ता तिलक बहादुर पाण्डे १२०४, अधिवक्ता भानु निरौला १२५४, अधिवक्ता छन्द प्रसाद आचार्य ११४८, अधिवक्ता भिष्म प्रसाद पौड्याल ११६९, अधिवक्ता सुशिला श्रेष्ठ १२७४, अधिवक्ता कृष्णसिंह महरा ११०२, अधिवक्ता रेशम कंडेल ११३२ र अधिवक्ता निकेश कुमार लम्साल १००७ विजयी हुनुभएको छ ।

बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको यस निर्वाचनमा प्रगतिशिल, पेशागत, गणतान्त्रिक तथा समावेशी समूह (पी.पी.एल.ए तथा आर.पी.एल.ए) को संयुक्त समूह र समाजवादी तथा लोकतान्त्रिक पेशागत कानून व्यवसायी समूहका उम्मेदवारहरुले कार्यसमितिका १९ वटा पदहरुमा प्रतिस्पर्धा गरेका थिए ।

दुई वर्षे कार्यकालका लागि सम्पन्न भएको यस निर्वाचनमा ३० जना उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका थिए । यस निर्वाचनमा उच्च अदालत बार एशोसिएशन पाटनका २ हजार ६ सय ५१ जना मतदातामध्ये १ हजार ६ सय ६५ जनाले मतदान गरेका थिए ।

पी.पी.एल.ए तथा आर.पी.एल.ए समूहका तर्फबाट विदूर प्रसाद ढुंगाना, विष्णुॠषि कोइराला, प्रबल शर्मा, सुशिला चौधरी र भुपाल बस्नेतले क्रमश अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष पदका लागि उम्मेदवारी दिनुभएको थियो । त्यसैगरी समाजवादी तथा लोकतान्त्रिक पेशागत कानून व्यवसायी समूहका तर्फबाट गोपाल श्रेष्ठ, दुर्गा प्रसाद चिमरिया, देवी प्रसाद रिजाल, एशोदा कुमारी पाण्डे, लक्ष्मी रेग्मीले क्रमश अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष पदका लागि उम्मेदवारी दिनुभएको थियो ।

दुई वर्षे कार्यकालका लागि सम्पन्न भएको यस निर्वाचनमा ३० जना उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका थिए । यस निर्वाचनमा उच्च अदालत बार एशोसिएशन पाटनका २ हजार ६ सय ५१ जना मतदातामध्ये १ हजार ६ सय ६५ जनाले मतदान गरेका थिए ।

उच्च अदालत बार एशोसिएशन पाटन नेपालमै सबै भन्दा धेरै कानून व्यवसायीहरु आवद्ध रहेको बार एशोसिएशन हो । नेपाल बार एशोसिएशनको केन्द्रिय निर्वाचनमा समेत निर्णायक भूमिका निर्वाह गर्ने उच्च अदालत बार एशोसिएशन पाटनको निर्वाचनलाई देशभरका कानून व्यवसायीहरुले महत्वका साथ हेर्ने अधिवक्ता चिरन्जीवि खतिवडाले रे टेलिभिजनलाई जानकारी दिनुभयो ।

 

 

Facebook Comments