Wed. Dec 25th, 2024

धरान-धनकुटा सडक अवरुद्ध   

धरान (सुनसरी), २०८१ असार २५ गते मंगलबार । निरन्तरको वर्षाका कारण आएको बाढीपहिरोका कारण धरान-धनकुटा सडक अवरुद्ध भएको छ । धनकुटाको सागुरीगढी-६ स्थित फेदीमा पहिरो खसेपछि बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजबाबु महर्जनले जानकारी दिनुभयो ।

सो सडकखण्डमा पर्ने फेदी, घण्टे र नमस्ते झर्ना क्षेत्रमा पहिरो झरेकोले सवारी आवतजावतमा समस्या भएको उहाँले बताउनुभयो । गर्जुवा खोलाबाट आएको बाढीका कारण ढुङ्गा र माटोसहितको लेदोले सडक ढाकेको उहाँले बताउनुभयो । “बाटो खोल्ने काम भइरहेको छ, पानी परिरहेकोले कतिखेर कहाँ पहिरो झर्नसक्ने अवस्था हुनसक्ने भएकोले सजक भएर हिँड्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो ।
    
बाढीका कारण बस्ती जोखिममा    

राससका अनुसार  निरन्तर वर्षासँगै आएको बाढीका कारण धरान उपमहानगरपालिका-१६ मा १० वटाभन्दा बढी घर जोखिममा परेका छन् । स्थलगत अनुगमनमा पुग्नुभएका धरान उपमहानगरपालिका-१६ का वडाध्यक्ष मुरारी भट्टराईले जोखिममा परेका दुई घरका परिवारलाई भने आफन्त र छिमेकीको पठाइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “बाँकी परिवारलाई पनि अन्यत्र सार्ने काम जारी छ निरन्तर पानी परेकाले समस्या भएको छ ।” निरन्तरको वर्षाले पुलमा सामानय क्षति भएको छ ।

Facebook Comments