Sat. Sep 21st, 2024

सेती नदीमा बाढीः ६० परिवार सुरक्षित स्थानमा   

बैतडी,२०८१ असार २३ गते आईतबार । सेती नदीको बाढी बस्तीमा पस्न थालेपछि बैतडीको सिगासका ६० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । सिगास गाउँपालिका-५ ढुङ्गाडका ६० परिवारलाई स्थानीय शारदा माविमा सारिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सेतीको बाढी गाउँ पस्ने खतरा बढेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारेका हौँ । स्थानीय जनप्रतिनिधिको सहयोगमा उनीहरूलाई शारदा माविमा सारिएको छ ।”

बाढीले बगाउने डरले स्थानीय पशुचौपायासहित घर छाडेर विद्यालयमा आश्रय लिएर बसेका छन् । नदी किनारमा लगाएको तटबन्धमाथिबाट नदी बग्न थालेपछि घर छाड्नुपरेको स्थानीय इन्द्रबहादुर चन्दले बताउनुभयो ।

सेतीमा पानीको बहाव बढ्दै गएपछि सिगास-५ का हरडाखानी, लाम्बगड, लोडेलगायत बस्ती बाढीको जोखिममा छन् । वि.सं. २०७८ कात्तिक पहिलो साता बाढीले सिगास-५ ढुङ्गाडलगायत क्षेत्रमा ठूलो क्षति गरेको थियो ।रासस

Facebook Comments