Mon. Dec 23rd, 2024

महामन्त्री डा. मुकुल ढकाललाई कारबाही गर्नु निरंकुशता : भिम रावल

भिओके समाचार/काठमाण्डू, २०८१ असार २२ गते शनिबार । नेकपा एमालेका नेता डा. भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति इंगित गर्दै पार्टीका महामन्त्री डा. मुकुल ढकाललाई कारबाही गरेर निरंकुशता देखाएको बताउनुभएको छ ।

आज काठमाण्डूमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले आजभोलि राजनीतिक दलहरुमा प्रश्न सोध्न पनि नपाइने गरेको बताउनु भयो । उहाँले प्रश्न गरेकै भरमा महामन्त्री ढकाललाई पार्टीबाट निस्कासित गरिएको बताउनु भयो ।

नेता रावलले भयंकर लोकतन्त्रवादी राजनीतिक दल भन्ने तर व्यवहार निरंकुशतावादी रहेको बताउनु भयो । उहाँले रास्वपा सभापति, उपप्रधान तथा  गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै टेलिभिजनमा काम गर्दा नेपाल नै उथलपुथल बनाइदिने जस्तो गरी कुरा गरेपनि सरकारमा आउँदा त्यस्तो नभएको बताउनु भयो । नेता रावलले नागरिकता, राहदानी दुई/दुई वटा बोकेर हिँड्नेले देश विकास गर्न नसक्ने धारणा व्यक्त गर्नुभयो ।  नेपाल न्यूज एजेन्सीका अनुसार उहाँले लामिछानेलाई सो पदमा राख्नेहरु पनि उत्तिकै जिम्मेवार रहेको बताउनु भयो । उहाँले नेपाललाई एकाधिकार पुँजीवादको खेल मैदान बनाउने काममा नेपालका ठूला राजनीतिक दलका ठूला नेता आफैँ लागेको बताउनु भयो । सहकारीमा भएको ठगी नेपाली राजनीतिको विकृति, चरम सत्ता स्वार्थसँग जोडिएको नेता रावलको भनाइ छ ।

नेता रावलले एमसीसीमा अनुदान लिएपछि गत ६ महिना यता त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला ठूला सैनिक जहाज आएको पनि जानकारी दिनुभयो ।

Facebook Comments