Thu. Jan 15th, 2026

एक हजार ११८ जनाद्वारा शरद ऋतुको हिमाल आरोहणको अनुमति

       

काठमाडौं, २०७६ कार्तिक १५ गते शुक्रबार ।

यस वर्षको शरद यामका लागि बिहीबारसम्म एक हजार ११८ जनाले हिमाल आरोहणको अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार अहिलेसम्म ४५ ओटा हिमाल आरोहणका लागि १४८ ओटा आरोहण टोलीले अनुमति लिएका हुन्। अनुमति लिनेमा ८८० जना पुरुष र २२० जना महिला आरोही छन्। कुल ६२ देशका आरोहीले अनुमति लिइसकेको विभागले जनाएको छ।

विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि यो सिजनमा दुईओटा आरोहण दलले अनुमति लिएका छन्। विभागका अनुसार ती दलबाट १० जना आरोहीले अनुमति पाएका छन्। सबैभन्दा धेरै आमादब्लम हिमालका लागि आरोहण अनुमति जारी भएको छ। विभागका अनुसार २६ ओटा आरोहण दलका ३०१ जनाले अहिलेसम्म आरोहण अनुमति लिएका छन् । त्यसपछि मनास्लु हिमालका लागि २७ ओटा दलका २६४ जनाले अनुमति पाएका छन् । त्यसपछि हिमलुङ हिमालका लागि ९२, धम्पुसका लागि ७६ जना, सरिबुङका लागि ६० जनाले आरोहण अनुमति पाएको विभागले जानकारी दिएको छ । अङ्लोसाङ र सुरा पिक आरोहणका लागि एक÷एक जना आरोहीले मात्र अनुमति लिएका छन्।

अन्नपूर्ण थर्ड, धौलागिरि, लाङटाङ, ल्होत्से, मकालुलगायत चर्चित हिमाल आरोहणका लागि पनि अनुमति लिएको विभागले जनाएको छ । हिमाल आरोहणको रोयल्टीबापत मात्रै अहिलेसम्म छ करोड ३६ लाख रुपियाँ सङ्कलन भएको विभागले जनाएको छ । जसमध्ये सबैभन्दा धेरै मनास्लु हिमालको आरोहण अनुमतिबापत दुई करोड ७० लाख रुपियाँ सङ्कलन भएको गोरखापत्र अनलाइनले जनाएको छ।

Facebook Comments

सम्बन्धित समाचार