Sat. Sep 21st, 2024

भाजपा एक्लैको बहुमत नपुग्ने सम्भावना

भारतमा जारी लोकसभाको मतगणनाले भारतीय जनता पार्टी (भाजपा) एक्लैले बहुमत नल्याउने सम्भावना

काठमाण्डू,२०८१ जेठ २२ गते मंगलबार । भारतमा जारी लोकसभाको मतगणनाले भारतीय जनता पार्टी (भाजपा) एक्लैले बहुमत नल्याउने सम्भावना बढेको छ । यो चुनावमा भाजपाले चार सय सिटभन्दा धेरै ल्याएर संविधान संशोधनको समेत एजेन्डा अघि सारेको थियो । तर आज भइरहेको मतगणनाअनुसार भाजपा एक्लैले  २ सय ३३ सिटमा अग्रता लिएको छ । भाजपा नेतृत्वको ’नेशनल डेम्रोक्र्याटिक अलाइन्स’ (एनडीए) ले भने २ सय ९१ सिटमा अग्रता लिइरहेको छ ।

एएफपीका अनुसार भारतीय कांग्रेस पार्टी ९७ सिटमा अघि रहेको छ । कांग्रेस नेतृत्वको इन्डिया गठबन्धनले २ सय ३५ सिटमा अग्रता लिएको छ । ५ सय ४२ सिटका लागि भएको चुनावमा बहुमत हासिल गर्न २ सय ७२ सिट आवश्यकता पर्छ । भारतीय निर्वाचन आयोगका अनुसार ५ सय ४३ वटा लोकसभाका सिटमध्ये गुजरातको सूरत लोकसभा सिटबाट भाजपाका मुकेश दलाल यसअघि नै निर्वाचित भइसक्नुभएको छ । मतगणनामा देखिएको अग्रताअनुसार भाजपा एक्लैले बहुमत ल्याउन नसक्ने देखिएको छ ।

यदि भाजपासँगै गठबन्धन गरेका एनडीएका साना दलले साथ छाडेमा कांग्रेस नेतृत्वको इन्डिया गठबन्धनको सरकार बन्न सक्ने आंकलन पनि शुरु भएको छ । गएको अप्रिल १९ तारिखदेखि शुरु भएको मतदान सात वटा चरणमा गरी गएको शनिवार सकिएको थियो ।

Facebook Comments