Sat. Sep 21st, 2024

अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ छिचोलियो

प्रधानमन्त्री ‘प्रचण्ड’ताम्रापत्रको उद्घाटन : सङ्खुवासभा, २२ जेठ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मङ्गलबार अरूण–३ जलविद्युत् परियोजनाको ब्रेक–थ्रु कार्यक्रमको ताम्रापत्रको उद्घाटन गदै । तस्बिर : प्रदीपराज वन्त/रासस

संखुवासभा ,२०८१ जेठ २२ गते मंगलबार । संखुवासभा जिल्लामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङ छिचोलिएको छ । आज एक भव्य समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आयोजनाको मुख्य सुरुङको अन्तिम भागमा विस्फोट गराएसँगै सुरुङ छिचोलिएको हो ।

सो समारोहमा उर्जमन्त्री शक्ति बस्नेत लगायतका महानुभावहरुको उपस्थिती रहेको थियो । प्रधानमन्त्री प्रचण्डले अरुण तेस्रोको ड्यामसाइट र पावरहाउसको हेलिकोप्टरबाटै अनुगमनसमेत गर्नुभएको थियो । निर्माणाधीन नौ सय मेगावाट क्षमताको सो आयोजनाको ७० प्रतिशत भन्दा बढी काम सकिएको छ । अरुण तेस्रोको निर्माणकार्य निरन्तर भैरहेको आयोजना निर्माण गरिरहेको भारतीय सतलज कम्पनीले जनाएको छ ।

राससका अनुसार  अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङ मकालु-५ फ्याक्सिन्दाको आमराङदेखि चिचिला गाउँपालिका-३ दिदिङ पुखुवाको पावरहाउसमा निस्कने सुरुङ छिचोलिएको हो । फ्याक्सिन्दादेखि पुखुवा निस्कने मुख्य सुरुङको लम्बाइ ११.८३७ किलोमिटर रहेको छ । परियोजनामा कुनै अवरोध नभएमा अबको करिब एक वर्षमा सम्पूर्ण निर्माण सम्पन्न हुने बताइएको छ ।

परियोजना सम्पन्न भइसकेपछि मात्र स्थानीयले शेयर पाउने परियोजना विकास सम्झौता (पिडिए) मा व्यवस्था गरिएको छ । परियोजनाले व्यावसायिक उत्पादन गर्न थालेको एक वर्षभित्र स्थानीयलाई शेयर बितरण गर्ने पिडिएमा उल्लेख गरिएको छ । करिब १ खर्ब ४ अर्ब लागत अनुमान गरिएको परियोजनाबाट नेपाललाई २१ प्रतिशत निःशुल्क विद्युत प्राप्त हुने छ भने विभिन्न शीर्षकमा ३ खर्ब ४८ रुपियाँ आर्थिक लाभ मिल्ने छ । विद्युत उत्पादनपछि प्रत्यक्ष प्रभावित परिवारले प्रतिमहिना ३० युनिटसम्म विद्युत निःशुल्क प्राप्त गर्ने छन् । निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने पिडिएमा उल्लेख छ ।

Facebook Comments