राष्ट्रियता भाषणमा, सीमारक्षक सिपाही भत्किएका झुप्रोमा
काठमाडौं, २०७७ बैशाक ३० गते मंगलबार
नयाँ पत्रिका जिल्ला ब्युरोको विस्तृत रिपोर्ट
धेरै ठाउँमा बोर्डर आउट पोस्ट (बिओपी)का भवन छैनन्, विद्युत्, सञ्चार, खानेपानीको सुविधा छैन । खोलाको पानी पिउनुपर्ने बाध्यता छ । नेपाली सुरक्षाकर्मीले सिम पनि भारतकै प्रयोग गर्नुपर्छ । त्यति मात्रै होइन, एउटा पोस्टबाट अर्को पोस्टमा जान पनि भारतीय बाटो हिँड्नुपर्छ ।
सरकारले सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीलाई खटाएको छ । तर, बर्खाको मुखमा ओत लाग्ने गतिलो टहरोसमेत नहुँदा सुरक्षाकर्मीलाई आफ्नै सुरक्षा गर्न पनि धौधौ छ । कोरोना महामारीपछि सीमामा अस्थायी पोस्ट खडा गरेर पालमुनि राखिएका सुरक्षाकर्मीको त झन् धेरै बिजोग छ । हुरी, बतास आउँदा र पानी पर्दा उनीहरू पाल समातेर बस्न विवश छन् ।
सीमा सुरक्षा गर्न भारतकै बाटो, भारतकै फोन
भूपेन्द्र वली/दाङ
- सिमानामा यस्ता छन् पोस्ट, कस्तो होला सिपाहीको मनोबल ? दाङको गुरुङ नाकामा सशस्त्र प्रहरीले प्रयोग गर्दै आएको भवन
भारतसँग जोडिएको दाङको ८३ किलोमिटर क्षेत्रमा तीन नाकामा मात्रै सशस्त्र प्रहरीको बिओपी छ, ३१ वटा खुला नाका छन् । लकडाउनपछि भने सात स्थानमा अस्थायी पोस्ट राखिएको छ । नयाँ र पुराना कुनै पनि स्थानमा सशस्त्र प्रहरीका आफ्नै भवन छैनन् ।
बिओपीमा विद्युत्, सञ्चार, खानेपानीको सुविधा छैन । उनीहरूले भारतकै सिम प्रयोग गर्नुपर्छ । ‘कोइलाबासबाहेक अन्य कुनै पनि स्थानमा हाम्रो फोनले काम गर्दैन । कतैकतै स्काईको सिमले काम गरे पनि भरपर्दो छैन । जिल्लासँग सम्पर्क गर्नुपर्दा र इन्टरनेट प्रयोग गर्नुपर्दा भारतीय सिमको प्रयोग गर्नुपर्ने बाध्यता छ,’ सशस्त्र प्रहरी बल कोइलाबासका इन्स्पेक्टर विशाल पाण्डेले भने, ‘यसो गर्दा सुरक्षा जोखिम त छ, तर अर्को उपाय पनि छैन ।’ अस्थायी पोस्टहरू स्थानीय विद्यालयमा राखिएका छन् ।
सुरक्षाकर्मीले दैनिक उपभोग्य सामान पनि भारतबाटै ल्याउनुपर्छ । विद्युत् नहुँदा सोलारबाट सञ्चारसेट चार्ज गर्छन् । खोलाको पानी पिउनुपर्ने बाध्यता छ । त्यति मात्रै होइन, एउटा पोस्टबाट अर्को पोस्टमा जान पनि भारतकै बाटो प्रयोग गर्नुपर्छ । ‘नेपालतर्फ सडक सञ्जाल जोडिएको छैन । त्यसैले एउटा पोस्टबाट अर्कोमा जानुपरे भारतकै सडकको प्रयोग गर्नुपर्छ,’ इन्स्पेक्टर पाण्डेले भने, ‘अर्को देश भएकाले भारतीय अनुमति नलिई हातहतियार पनि बोक्न पाउँदैनौँ ।’
टिनका टहरामा रात बिताउँदै सशस्त्र प्रहरी
बर्दिया/यज्ञप्रसाद सापकोटा
गत आइतबार भारतको हिमाञ्चल हुँदै नेपालको पश्चिम क्षेत्रमा हावाहुरीसहित ठूलो वर्षा भयो । दिउँसो करिब ३ बजेतिर हावाहुरी धनगढी आइपुगेको खबर सुनेपछि बर्दियाको कालाबन्जरस्थित सशस्त्र प्रहरीको बिओपीमा हल्लीखल्ली मच्चियो । हावाहुरीबाट टिनका टहरा जोगाउन हतारहतार जवानहरू खटिए । टिनका छानामा माथिबाट फलामे तार लगाई जमिनमा काठका किला ठोकेर बाँध्न थाले । तर, हुरी आउन्जेल गाडी राख्ने र खाना खाने टहरो भने बाँध्न भ्याएनन्, दुवै टहराको टिन हुरीले उडाएर लग्यो ।
बिओपी राख्दा सुरुमा त्रिपालको ओत मात्रै थियो । गत वर्ष तीनपटकसम्म हुरीले त्रिपाल उडाएपछि स्थानीय व्यापारी र इँटा उद्योगीको सहयोगमा सशस्त्रले टिनका टहरा बनाएको थियो, तर ती पनि असुरक्षित छन् । ऐलानी जग्गामा टहरा बनाइएका छन्, पक्की घर बनाउन बजेट छैन । पटक-पटक गृह मन्त्रालयमा आग्रह गर्दासमेत जग्गा पाउन नसकिएको सशस्त्रका एक अधिकृतले बताए ।
बर्दियामा सशस्त्र प्रहरी सीमा सुरक्षा बलको एक हेडक्वार्टर र पाँचवटा बिओपी छन् । हेडक्वार्टर मात्रै आफ्नै जग्गामा व्यवस्थित रूपमा बनेको छ । पछिल्लो समय कोरोनाको संक्रमणबाट जोगाउन सीमामा खटिएका सशस्त्र प्रहरी त त्रिपालमुनि नै कष्टकर ढंगले बसेका छन् । हावाहुरी र पानी पर्दा उनीहरूलाई ज्यान जोगाउनै हम्मे पर्छ ।
कैलालीमा कार्यालय र सुत्ने कोठा एउटै
धनगढी/तेजराज भट्ट
कैलालीको फूलबारीस्थित वडा कार्यालयको भवनमा बसेको सशस्त्र प्रहरीको बिओपीमा न्यूनतम पूर्वाधारसमेत छैनन् । टिनको छानोमा रहेको एउटै हलमा कोचिएर बस्छ ३५ जनाको टोली । हलकै एक कुनामा कम्प्युटरलगायत सामान राखेर कार्यालय बनाइएको छ । ३५ जनाका लागि दुईवटा शौचालय र एउटा पानीको धारा छ ।
‘शौचालय जान पनि लाइन लाग्नुपर्छ । सबैजना बसेर खान मिल्ने मेस छैन । पालैपालो खान्छौँ,’ बिओपी इन्चार्ज इन्स्पेक्टर जयबहादुर महतोले भने, ‘पानी आए कार्यालयबाहिर पहरा बस्ने ठाउँ पनि छैन । भित्र पनि सुत्ने ठाउँमै कार्यालय बनाएका छौँ ।’ चार वर्षअघि नेपाल-भारत सीमाभन्दा करिब डेढ किलोमिटरवर सशस्त्रको क्याम्प बसेको हो । भवन अभावले अधिकृतदेखि जवानसम्म एउटै कोठामा सुत्छन् । सीमामा सशस्त्रकै नाममा तीन बिघा जग्गा भए पनि बजेट अभावले भवन निर्माण गर्न सकेको छैन ।
टीकापुरको खक्रौला भन्सार नाकामा रहेको बिओपीमा भवन नै छैन, सशस्त्र प्रहरी पाल टाँगेर बसेको छ । मोहना नदीको किनारामा रहेको बिओपीमा खानेपानी छैन । ह्यान्डपाइपको पानी खानयोग्य छैन । एउटै शौचालय हुँदा खुला शौच गर्नुपर्ने बाध्यता रहेको बिओपी इन्चार्ज इन्स्पेक्टर चन्द्रदेव भट्टले बताए । पूर्वाधार अभावले काम गर्न चुनौती रहेको उनले बताए ।
कैलालीमा ६ वटा बिओपी थप्ने सरकारको केही महिनाअघिको निर्णयअनुसार धनगढीकै बंगराकटानमा डेढ महिनाअघि स्थापना गरिएको बिओपीमा पनि न्यूनतम् पूर्वाधारको अभाव छ । झ्यालका ढोका छैनन्, फ्ल्याक्स झुन्ड्याइएको छ । सुत्ने ठाउँको अभावमा बाहिर दुईवटा पाल लगाइएको छ । बिओपी इन्चार्ज इन्स्पेक्टर साजेन्द्र श्रेष्ठले भने, ‘हावाहुरी आउँदा टिन थामेर बस्नुपर्छ ।’ नयाँ थपिएका ६ वटा बिओपी सीमानाका बन्द गरिएपछि अस्थायी संरचना निर्माण गरेर सञ्चालनमा ल्याइएका हुन् ।
पुराना पाँचवटा बिओपीको पनि आफ्नो भवन छैन । सबै बिओपी अर्काको भवनमा बसेको सशस्त्र प्रहरी बल ३४ नम्बर गण कैलालीका प्रमुख एसपी कमलप्रसाद तिउसिनाले बताए । भजनीको बिओपी सीमाभन्दा करिब चार किलोमिटरवर भजनी बजारस्थित नेपाल टेलिकमको भवनमा बसेको छ । कैलारी गाउँपालिकाको भुँइयाफाँटामा गाभिएर खाली भएको विद्यालयमा बिओपी छ । त्यस्तै धनगढीको त्रिनगर भन्सार नाकामा रहेको बिओपी भन्सारकै भवनमा बसेको छ ।
‘पुरानै क्याम्पहरूमा पूर्वाधार अभाव छ । जसोजसो बसिरहेका छन्,’ एसपी तिउसिनाले भने, ‘नयाँ क्याम्पहरूमा झनै समस्या छ, सशस्त्र प्रहरीले पानीसमेत खान नपाएर ड्युटी गरिरहेको छ ।’
बाँकेमा त्रिपालमुनि बसेर सीमा रक्षा
बाँके/विश्वराज पछल्डङ्ग्या
सीमा सुरक्षाका लागि बाँकेमा खटिएका सशस्त्र प्रहरीलाई आइतबार बेलुकी हुरीबताससँगै परेको पानीबाट आफू र हतियार जोगाउन धौ–धौ भयो । पालमुनि बसेका सशस्त्र प्रहरी पाल समातेर बसिरहे ।
‘हुरीबतास चल्न सुरु हुनासाथ सबैजना टेन्ट समातेर बस्छौँ । पानी चुहिएर सुत्न मिल्दैन । आकाशमा कालो बादल मडारिन थाल्यो भने सात्तोपुत्लो जान्छ,’ जानकी गाउँपालिका-१ स्थित बिओपीका एक प्रहरीले भने । सीमामा खटिएका सशस्त्र प्रहरीसँग न त आवश्यक बन्दोबस्तीका सामान छन्, न पिउने पानी र बिजुली नै छ।
सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीलाई अवैध सामान ओसारपसार र भारतबाट हुने अवैध घुसपैठलाई नियन्त्रण गर्ने जिम्मेवारी पनि दिइएको छ । कोरोनाका कारण नाका सिल भएपछि भारतबाट आउनेलाई रोक्ने जिम्मेवारी पनि सशस्त्र प्रहरीले नै पाएको छ ।
भारतसँग जोडिएको बाँकेको ६५ किलोमिटर क्षेत्रमा ११ किलोमिटरको दूरीमा सशस्त्रको बिओपी रहेको सशस्त्र प्रहरी बल ३० नम्बर गणका गणपति एसपी दीपक अधिकारीले बताए । उनका अनुसार फरवार्ड बेस क्याम्प ६, चाइनिज टेन्टले बनाएको सुरक्षा पोस्ट २५ र गार्ड पोस्ट ६५ वटा छन् । ११ किलोमिटरको दूरीमा बिओपी र सयदेखि एक सय ५० मिटरको दूरीमा गार्ड पोस्ट निर्माण गरिएको उनले बताए । ‘भारतीय सीमा सुरक्षा बलजस्तै सुरक्षाकर्मी परिचालन गर्न प्रत्येक तीन किलोमिटरमा बिओपी हुनुपर्छ भन्ने मेरो माग छ,’ एसपी अधिकारीले भने ।
इलाममा ५२ किमि सीमाको गस्ती गर्न तीन लिटर इन्धन
इलाम/ख्याम भुुजेल
भारतसँग इलामको सन्दकपुरदेखि रोङ गाउँपालिकाको जिर्मलेसम्म ५२.५ किलोमिटर भूमि जोडिएको छ । इलामको पशुपतिनगरमा रहेको सशस्त्र प्रहरीको बिओपीले सीमा सुरक्षाका लागि दैनिक यो क्षेत्रमा गस्ती गर्नुपर्छ । यसका लागि सशस्त्रलाई महिनाको सय लिटर अर्थात् दिनमा करिब साढे तीन लिटर इन्धन मात्रै दिइएको छ ।
त्यति मात्रै होइन, बिओपीमा एउटा मात्रै गाडी छ । यहाँ ३५ सशस्त्र प्रहरी कार्यरत छन् । उनीहरूले सीमामा हुने चोरीपैठारी नियन्त्रण र भिआइपीको सवारी हुँदा त्यसमा पनि परिचालन हुनुपर्छ । पशुपतिनगरस्थित पुरानो भन्सार कार्यालयमा रहेको बिओपी पोस्ट जीर्ण छ, सुरक्षाकर्मी डराइडराई बस्नुपरेको उनीहरूले बताएका छन् । यो क्षेत्रमा थप सात ठाउँमा बिओपी राख्न स्वीकृति मिलेको भए पनि स्थापना हुन सकेको छैन ।
मोरङमा अस्थायी पोस्टमा टर्च छैन, मोबाइलकै भर
कोरोनाका कारण मोरङको भारतसँग जोडिएको सीमा क्षेत्रमा अस्थायी बिओपी राखिएका छन् । अस्थायी पोस्टमा रहेका सशस्त्र प्रहरी पालमै ड्युटी गरिरहेका छन् । बिजुली, खानेपानी, शौचालयलगायतका आधारभूत सुविधा पनि छैन । हावाहुरीले पाल उडाउँदा समस्या हुने गरेको इस्लामपुर अस्थायी बिओपीका वरिष्ठ हवल्दार तीर्थ श्रेष्ठले बताए । राति सुत्नसमेत गाह्रो हुने गरेको उनले बताए । ‘मास्क, स्यानिटाइजर छैन । सबैलाई टर्च उपलब्ध छैन । राति मोबाइलको टर्च प्रयोग गर्नुपर्छ,’ उनले भने । अस्थायी बिओपीमा खटिएका सशस्त्र प्रहरीसँग साइकल मात्रै छन् । मोरङमा स्थायी र अस्थायी गरेर ७१ स्थानमा चार सय ६ जना सशस्त्र प्रहरी खटिएका छन् ।
धनुषामा जनशक्ति नहुँदा १५ घन्टासम्म ड्युटी
जनकपुरधाम/हदिश खुद्दार
भारतसँग जोडिएको धनुषाको सीमा क्षेत्रमा सशस्त्रका सातवटा बिओपी छन्, तर कतै पनि आफ्नो भवन छैन । भाडाकै कच्ची घरमा बसेका छन् । ‘भौतिक रूपमा हाम्रा सबै बिओपीको अवस्था कमजोर छ,’ धनुषाका एसपी राजेश उप्रेतीले भने ।
अहिले कोरोनाका लागि नौवटा अस्थायी पोस्ट थपिएका छन् । ती पनि विद्यालय, सार्वजनिक भवन र पाल टाँगेर राखिएका छन् । धेरै पोस्ट हुँदा जनशक्ति अभाव छ । ‘जनशक्ति कम छ । अहिले भएको जनशक्तिले १५–१६ घन्टासम्म आलोपालो गरी काम गर्नुपर्ने बाध्यता छ,’ एसपी उप्रेतीले भने ।
हात्तीले भत्काएको भवनमा बिओपी
कञ्चनपुर/मोहन विष्ट
भारतसँग जोडिएको कञ्चनपुरको एक सय २९.५ किलोमिटर सीमा क्षेत्रमा ६ वटा बिओपी छन् । भारततिर भने साढे दुई किलोमिटरको दूरीमा एसएसबीका बिओपी छन् । बेलौरी र दोधारामा मात्रै पक्की भवन छ, अन्यत्र कच्ची भवनमै बसिरहेका छन् ।
पुनर्वास नगरपालिका-९ बीचफाँटामा स्थापना गरिएको बिओपी हात्तीले भत्काएको घरमा छ । ६ वर्षअघि हात्तीले भत्काएपछि स्थानीय वीरबहादुर सुनारको परिवारले घर छाडेको थियो, त्यहीँ बिओपी राखिएको छ ।
त्यस्तै, बेलौरी र दोधाराबाहेकका बिओपीमा खानेपानी, विद्युत्, शौचालयको अभाव छ । कार्यालय एवं सुत्नका लागि पनि समस्या हुने गरेको सशस्त्र प्रहरीले जनाएको छ । कच्ची भवनहरू पानी पर्दा चुहिने गरेका छन् । ‘हावाहुरी, पानी पर्दा त कसरी बाँच्ने भन्ने चिन्ता हुन्छ,’ एक सशस्त्र प्रहरीले भने ।
सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति वीरसिंह साहुले स्रोतसाधन अभाव रहेको बताए । ‘हामीसँग पर्याप्त स्रोतसाधन छैनन्, भएका पनि थोत्रा भइसकेका छन्,’ उनले भने । कञ्चनपुरमा ६ सय २१ जनाको दरबन्दी भए पनि त्यसअनुसार पदपूर्ति भएको छैन । कोरोनाका लागि बनाएका २३ वटा अस्थायी पोस्टमा त पालकै भर छ । हावाहुरीले पोस्ट नै उडाउने गरेको छ ।
महाकाली किनारमा टेन्टकै भर
दार्चुला/पदम बडाल
दार्चुला सदरमुकाम खलंगामा रहेको सशस्त्र प्रहरीलाई भारतबाट आउने नेपालीलाई रोक्न १० ठाउँमा परिचालन गरिएको छ । लाली, उकु, जौलजीवी र कालागाडमा पुराना भवनमा राखिएको छ भने खेट्टेबगरमा फोहोर व्यवस्थापन केन्द्रको भवनमा राखिएको छ ।
त्यस्तै, महाकाली किनारमा भने टेन्टकै मुिन बस्नुपरेको छ । हावाहुरी र पानी परेका वेला समस्या हुने भए पनि महाकाली किनारमा टेन्टको विकल्प नभएको ५० नम्बर गुल्मका गुल्मपति डम्बरबहादुर विष्टले बताए । कालागाडबाहेक अन्य सबै क्षेत्रमा सडक पहुँच भएको तथा इन्धन, पिपिई र स्यानिटाइजरको उपलब्धता रहेको उनले बताए । जिल्लाका १० ठाउँमा एक सय २० जना प्रहरी खटिएका छन् ।
गस्तीमा गएको गाडी धकेलेर ल्याउनुपर्ने बाध्यता
सर्लाही/श्रवण थापा
भारतसँग जोडिएको सर्लाहीको ५१ किलोमिटर सीमा क्षेत्रमा सशस्त्र प्रहरीका ६ वटा बिओपी छन् । बलरा, संग्रामपुर, खुटौना, त्रिभुवननगर, सिमरा र छतौनामा रहेका स्थायी बिओपीमा पनि स्रोतसाधनको अभाव छ । पर्याप्त भवन नहुँदा एउटै कोठामा २५ देखि ३० जवान सुत्दै आएका छन् ।
उनीहरूले दिनरात गस्ती गर्दा प्रयोग गर्ने सवारीसाधन पनि पुराना र बिग्रिएका छन् । गस्तीमा जाँदा बिग्रिएर पटक–पटक दुःख पाउने गरेको सशस्त्र प्रहरी बताउँछन् । उनीहरूका अनुसार, कतिपटक त दुर्घटनामा परेका छन् । ‘गस्ती गर्ने गाडी त गतिलो छैन, अरू के होला,’ एक सशस्त्र प्रहरीले भने । गस्तीमा गएको गाडी धकेलेर ल्याउनुपर्ने अवस्था रहेको उनीहरू बताउँछन् ।
भवन पनि पुराना र चुहिने छन् । जनशक्ति पनि कमी छ । जसले गर्दा एउटैले दैनिक १५ घन्टासम्म ड्युटी बस्नुपर्छ । जिल्लास्थित सशस्त्र प्रहरी बल १० नम्बर गणका गणपति एसपी गंगाराम श्रेष्ठले यस विषयमा केही नबोल्ने बताए । भौतिक संरचना, स्रोतसाधनका विषयमा केही नबोल्न प्रधान कार्यालयबाट निर्देशन आएको उनको भनाइ छ ।
अरूकै भवनमा आश्रय
महोत्तरी/रञ्जन भण्डारी
महोत्तरीको भारतसँग जोडिएको सीमा क्षेत्र ३८.६ किलोमिटर छ, जहाँ सशस्त्र प्रहरीका ६ वटा बिओपी छन् । खैरवनीबाहेक अन्य बिओपीसँग भवन छैनन् । भन्सार र अन्य कार्यालयका भवनमा गुजारा चलाइरहेका छन् । ती कार्यालयले भवन प्रयोग गर्न नदिए कहाँ बस्ने ठेगान छैन ।
महोत्तरीमा रहेको सशस्त्र प्रहरीको ९ नम्बर गणका अनुसार, खान, बस्न र सुत्न पनि समस्या हुन्छ । आवश्यक भौतिक संरचना, साधनस्रोत छैन । सीमा क्षेत्रमा बाटो छैन । वर्षात्को समयमा त गस्ती गर्नै नसकिने गरेको सशस्त्र प्रहरी बताउँछन् ।
सिराहामा द्वन्द्वमा बमले भत्किएको र जीर्ण भवनमा बसेर सीमा सुरक्षा
सिराहा/मणिलाल विश्वकर्मा
सिराहाको ४८ किलोमिटर सीमा क्षेत्रमा सशस्त्र प्रहरीका ६ वटा बिओपी छन् । सबै बिओपीको आफ्नो भवन छैन, सरकारी कार्यालयका भवन तथा भाडाका घरमा रहेका छन् । ती पनि पुराना र जीर्ण रहेका छन् । उनीहरूसँग पर्याप्त स्रोतसाधन पनि छैनन् ।
नवराजपुर गाउँपालिका- ४ स्थित सोनवर्षामा रहेको बिओपी जीर्ण भवनमा छ । सशस्त्र द्वन्द्वमा माओवादीले बम प्रहार गरेपछि प्रहरीले छोडेको थियो । त्यही भत्किएको भवनमा अहिले बिओपी छ । ठाढीस्थित बिओपीमा एउटा पिकअप भ्यान र एउटा मोटरसाइकल छ । त्यस क्षेत्रका पाँचवटा सहायक सीमास्तम्भको सुरक्षाका लागि समस्या भए पनि जनता आधारभूत विद्यालयमा फरवार्ड बेस क्याम्प स्थापना गरेर सशस्त्र प्रहरी राखिएको छ । त्यहाँबाट आवतजावत गर्नै समस्या हुन्छ । ‘बर्खामा डेढ फिटसम्म डुबान हुन्छ, त्यतिवेला पोस्टवरिपरि माटो भरेर डुबानको कहर काट्छौँ,’ इन्चार्ज जीवन खतिवडाले भने ।
अन्य बिओपीको अवस्था पनि यस्तै छ । सशस्त्र प्रहरी बल नं. ७ गणपति एसपी प्रवीण कँडेलले बिओपीमा अहिले पोस्टमा खटिने सुरक्षाकर्मीका लागि टर्चलाइट, मच्छरबाट जोगिन शरीरमा दल्ने ओडोमस मल्हम, स्यानिटाइजर, मास्क, झुल पठाएको बताए । नयाँ पत्रिका अनलाईनबाट