Fri. Sep 20th, 2024

सुस्त परीक्षणले लकडाउन लम्बिने निश्चित

काठमाडौं, २०७७ बैशाक २४ गते बुधबार

सरकारले तत्काल लकडाउनको मोडालिटी हेरफेर नगर्ने भएको छ । अत्यावश्यक र कृषि क्षेत्रबाहेक अन्यत्र लकडाउन खुकुलो नहुने भएको छ । सरकारले जेठको पहिलो सातासम्म लकडाउन लम्ब्याउने तयारी गरेको छ । मंगलबार बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समवन्य समितिको बैठकले लकडाउन लम्ब्याउन सिफारिस गरेको छ । बुधबार मन्त्रिपरिषद्को बैठकले लकडाउनको समयबारे निर्णय गर्ने छ ।

समितिको बैठकमा पहिलोपटक प्रधानमन्त्री केपी ओली आफैँ उपस्थित हुनुभएको थियो । उहाँले मन्त्रीहरूको ब्रिफिङ सुनेपछि तत्काल खुकुलो बनाउने अवस्था नभएको धारणा राख्नु भएको थियो । एक मन्त्रीका अनुसार जेठको पहिलो सातापछि अवस्था हेरेर मात्र मोडालिटी परिवर्तन हुन सम्भावना छ । संक्रमण नदेखिएका केही क्षेत्रमा कार्यालय तथा व्यवसाय सञ्चालनको माग बढ्दै गएको छ । तर, परीक्षण नै कम भएको र संक्रमित व्यक्तिलाई हप्तौँसम्म लक्षणसमेत नदेखिने भएकाले खुकुलो बनाउँदा जोखिम हुने निष्कर्ष निकालिएको छ ।

बैठकमा केही मन्त्रीले आर्थिक क्षेत्रमा ठूलो असर परेकाले पूर्ण रूपमा स्वास्थ्य सुरक्षा अपनाएर काम गर्न दिन सकिने प्रस्ताव गरेका थिए । सरकारले यसअघि नै सुरक्षा अपनाएर उद्योग तथा विकास निर्माणका काम सञ्चालन गर्न दिने निर्णय गरिसकेको छ । अन्य व्यवसाय सञ्चालनका लागि बुधबार निर्णय हुने सम्भावना कम छ । भारतमा समेत केही दिनयता संक्रमण र मृत्युको संख्या बढिरहेकाले नेपालमा पनि त्यहीअनुसार जोखिम बढ्न सक्ने आकलन गरिएको छ । ११ चैतदेखि सुरु भएको लकडाउन २५ वैशाखसम्म रहेकोमा फेरि थप्न लागिएको हो । नयाँ पत्रिका दैनिकबाट

Facebook Comments