Fri. Nov 22nd, 2024

ओली-प्रचण्ड भेट, स्थायी कमिटीका एजेन्डामाथि छलफल

काठमाडौं, २०७७ बैशाक २२ गते सोमबार

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच साेमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट भएको छ ।

शनिबारको सचिवालय बैठकले पार्टीको अन्तरकलहको अस्थायी समाधान निकालेपछि दुई अध्यक्षबीचको यो पहिलो भेटवार्ता हो ।

सचिवालय बैठकले पार्टीलाई एकताबद्ध राख्ने, विधि, पद्धति र कम्युनिस्ट मूल्यमान्यताअन्तर्गत सञ्चालन गर्ने सहमति गरेको थियो ।

यसका लागि २४ वैशाखमा पुन: सचिवालय र २५ वैशाखमा स्थायी कमिटी बैठक बोलाइएको छ ।

दुई नेताबीच स्थायी कमिटी बैठकका एजेन्डा तय र शक्ति बाँडफाँडका विषयमा छलफल गर्न भेट भएको हो ।

आइतबार प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच पनि भेटवार्ता भएको थियो ।

पार्टीको मार्गनिर्देशन, नीति-निर्देशनमा सरकार सञ्चालन गर्ने सचिवालयको निर्णय छ । यसबाहेक उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाका लागि उम्मेदवार बनाउने नेकपाकाे निर्णय छ ।

नयाँ पत्रिका दैनिकका अनुसार स्थायी कमिटी बैठकअगाडि यी विषयमा पनि ठोस सहमति बनाउने र स्थायी कमिटीमा अनुमोदन गराउने शीर्ष नेताहरूको तयारी छ ।

प्रधानमन्त्री ओलीले पार्टीमा परामर्शविना एक्कासि दुई अध्यादेश ल्याएपछि पार्टीका शीर्ष नेताबीच नै तीव्र विवाद भएको थियो ।

विवाद शनिबारको सचिवालय बैठकपछि साम्य भएको छ ।

Facebook Comments