Sun. May 19th, 2024

कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न करिब साढे तीन अर्ब बजेट रकमान्तर गरी खर्च

काठमाडौं, २०७७ बैशाक २२ गते सोमबार

कोरोना भाइरस संक्रमणको महामारीविरुद्ध लड्न सरकारले ३ अर्ब ४२ करोड रुपैयाँ बराबरको बजेट रकमान्तर गरी खर्च गरेको छ । सरकारले स्वास्थ्य सामग्री खरिद र स्वास्थ्य जनशक्ति परिचालनमा उक्त रकम खर्च गरेको हो ।

अर्थ र सञ्चार तथा सूचनामन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य जोखिमलाई न्यूनीकरण गर्न चाहिने स्वास्थ्य सामग्री खरिद र जनशक्ति परिचालनका लागि स्वास्थ्य मन्त्रालयलाई एक अर्ब आठ करोड रुपैयाँ निकासा दिएको जानकारी दिनुभएको हो ।

त्यसैगरी रक्षा मन्त्रालयलाई २ अर्ब ३४ करोड रुपैयाँ रकमान्तर गरी निकासा दिएको उहाँले जानकारी दिनुभयो । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको सोमबारको बैठकमा बोल्दै अर्थमन्त्री खतिवडाले कोरोनाविरुद्धको लडाइँमा बजेट अभाव हुन नदिएको बताउनु भयो ।

कोरोना भाइरसको रोकथामका लागि देशभर लकडाउन गरिएको र सीमानाकाहरू पूर्ण रूपमा बन्द भएकाले राजश्वमा चाप परेकोसमेत मन्त्री खतिवडाले उल्लेख गर्नुभयो । भन्सार नाकाबाट मासिक लक्ष्यको एकचौथाइ मात्र राजस्व संकलन भएको र भन्सार, मूल्यवृद्धि कर, अन्तःशुल्क असुली सबैमा कमी आउँदा राजस्व संकलनमा चाप परेको उहाँको भनाइ थियो ।

सरकारले कोरोना भाइरसको रोकथामका लागि खर्च गर्ने सम्बन्धमा आवश्यक रकम जुटाउन अन्तर्राष्ट्रिय सहायता परिचालनमा करिब डेढ खर्ब रुपैयाँको प्रतिबद्धता पाएकोसमेत उहाँले जानकारी दिनुभयो । यस्तो रकम स्वास्थ्य सेवा तथा स्वास्थ्य क्षेत्रमा खर्च गरिने उहाँले बताउनु भयो ।

उहाँले लकडाउन लम्बिँदै जाँदा सबै क्षेत्रका काम ठप्प भएकाले सरकारको खर्चमा समेत प्रभाव परेको बताउनु भयो । चैत मसान्तसम्म कुल चालूतर्फको खर्च वार्षिक लक्ष्यमा करिब ५१ प्रतिशत अर्थात् चार खर्ब ८८ करोड रुपैयाँ खर्च भएको छ ।

यस्तै पुँजीगततर्फ वार्षिक लक्ष्यको करिब २६ प्रतिशत अर्थात् एक खर्ब ५ अर्ब रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ ५० प्रतिशत अर्थात् ८४ अर्ब खर्च भएको मन्त्री खतिवडाले जानकारी दिनुभयो ।

कोरोना रोकथाम कोषमा दुई अर्ब २० करोड जम्मा
सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा दुई अर्ब २० करोड जम्मा भएको छ । कोष स्थापना गर्दा सरकारले ५० करोड रुपैयाँ बिउ रकमका रूपमा राखेको थियो ।

कोरोना भाइरसंग जुध्न आवश्यक पर्ने स्वाथ्य उपकारणहरू, स्वास्थ्य साम्रगीहरू त्था स्वास्थ्य जनशक्ति परिचालन गर्ने कुरामा सरकारले विशेष ध्यान दिएर अर्थ मन्त्रालयबाट रकम अभाव हुन नदिएको मन्त्री खतिवडाले बताउनु भयो ।

समयमै अन्तर्राष्ट्रिय सीमानाका र आन्तरिक आवतजावत रोकेकाले कोरोनाको संक्रमण नियन्त्रणमा रहेर जोखिम कम भएको उहाँको विश्लेषण थियो ।

सरकारले कोरोना रोकथाम कोषको रकम कसरी खर्च गर्ने कुन क्षेत्रलाई कसरी बजेट दिने भन्ने निर्णय गर्नका लागि योजना आयोगको उपाध्यक्षको संयोजकत्वमा समिति बनाएको छ ।

समितिले गरेको सिफारिसको आधारमा प्रदेश स्थानीय तह राहत स्वाथ्य सामग्रीलगायत आवश्यक सामग्रीका लागि अर्थ मन्त्रालयले बजेट निष्कासन  गर्ने खतिवडाले बताउनु भयो । नयाँ पत्रिका दैनिकबाट

Facebook Comments