Fri. Sep 20th, 2024

राष्ट्रपतिबाट वैशाख २६ गते संसदको संयुक्त अधिवेशन आव्हान

काठमाडौं, २०७७ बैशाक २१ गते आईतबार

 राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २६ गते शुक्रबार दिउँसो ४ बजेका लागि दुवै सदनको संयुक्त अधिवेशन आह्वान गर्नु भएको छ ।

राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा (१)बमोजिम अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदका दुबै सदनको अधिवेशन आव्हान गर्नु भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले सो अधिवेशनका लागि सिफारिस गरेको थियो ।

कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण कहरबीच सङ्घीय संसद् सचिवालयले आसन्न बजेट अधिवेशनको तयारी थालेको थियाे । सचिवालयले कोरोना जोखिम न्यूनीकरणका उपायसमेत अवलम्बन गर्ने गरी बैठक सञ्चालन तथा व्यवस्थापन गर्ने तयारी गरेको हो । संविधान अनुसार जेठ १६ गते संसद्मा बजेट प्रस्तुत गर्नुपर्नेछ ।

आउँदो अधिवेशनमा अब सरकारका नीति तथा कार्यक्रम र बजेट पेसका लागि संयुक्त बैठक समेत बस्ने भएकाले उक्त व्यवस्थापनमा पनि सचिवालय जुटेको थियाे । सङ्घीय संसद् सचिवालयले बैठक सञ्चालनको तयारी र व्यवस्थापन भइरहेकाे जनाउँदै  कोरोना सङ्क्रमण जोखिमलाई समेत ध्यानमा राखेर भौतिक दूरी कायम हुनेगरी बैठक कक्ष व्यवस्थापन लगायतका काम अगाडि बढाएकाे थियाे । बैठक कक्षलाई सुरक्षित बनाउन अन्य उपाय पनि अवलम्बन हुनेछन् । यो अधिवेशनमा संयुक्त बैठक समेत बस्ने भएकाले दुवै सदनका माननीयहरूलाई पर्याप्त स्थान हुनेगरी बैठक कक्ष व्यवस्थापनको काम भइरहेको छ ।

सङ्घीय संसद् भवनको प्रतिनिधि सभा बैठक कक्षलाई नै कोरोना सङ्क्रमण जोखिम कम गर्नेगरी बैठक कक्ष व्यवस्थापन गरिनेछ । हाल प्रतिनिधि सभातर्फ सदस्यहरूलाई छुट्टयाइएका ३९० सिट छन् । यस्तै, प्रदेश सभाबाट अध्ययनका लागि आउने सदस्यहरू तथा कर्मचारीका लागि पछिल्लो स्थानमा छुट्टयाइएका करिब दुई सय हाराहारामी कुर्सी छन् ।

सचिवालयले अब अघिल्लो स्थानमा रहेका कुर्सीमा एक स्थान खाली राखेर बस्ने गरी व्यवस्थापन गर्न लागेको हो । एक सांसद बसेपछि बीचमा एक सिट खाली गरिनेछ । बैठक कक्षको पछिल्लो स्थानमा भने निश्चित दूरी खाली राखेर व्यवस्थापन गरिनेछ भनि गोरखापत्र अनलाईनले समाचार लेखेको छ ।

Facebook Comments