Tue. Apr 30th, 2024

पाकिस्तानमा वर्षाजन्य दुर्घटनामा ७१ जनाको मृत्यु

पाकिस्तानको खैबर पख्तुनख्वाको चारसद्दा जिल्लामा भारी वर्षापछि बाढी आएको घर नजिकै उभिरहेका बासिन्दाहरू, अप्रिल १७, २०२४/सीएफपी

इस्लामावाद, २०८१ वैशाख ५ गते बुधबार । भारी वर्षासहितको मौसमी विचलनले शनिबारदेखि पाकिस्तानका विभिन्न क्षेत्रमा विनास मच्चाएको छ । विनासका कारण ७१ जनाको मृत्यु हुनुका साथै ६७ जना घाइते भएको एक अधिकारीले बुधबार सिन्ह्वालाई बताएका छन् ।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) का अधिकारीका अनुसार उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्त सबैभन्दा बढी प्रभावित क्षेत्र बन्यो, जहाँ घटनाका कारण ३२ जनाको ज्यान गएको थियो ।

अधिकारीका अनुसार खैबर पख्तुनख्वामा मृतक मध्ये १५ जना बालबालिका र पाँच महिला छन् । घाइते हुनेमा ४१ जना रहेका छन् भने एक हजार तीन सय ७० घरहरू क्षतिग्रस्त भएका छन् ।

यसैगरी पूर्वी पञ्जाब प्रान्तमा २३ जनाको ज्यान जानुका साथै सात जना घाइते भएका छन् । दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा आठ जनाको मृत्यु भयो भने अन्य आठ जना घाइते भएको अधिकारीले बताए ।

कश्मीरमा भारी वर्षाका कारण कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै ११ जना घाइते भएका छन् भने ४७ वटा घरहरू ध्वस्त भएका छन् । सिन्ह्वा

Facebook Comments