Tue. Apr 30th, 2024

कोशी प्रदेशले मानवीय विकासलाई पहिलो प्राथमिकतामा राखेको छ : मुख्यमन्त्री कार्की   

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशले मानवीय विकासलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ ।

मोरङ, २०८१ वैशाख ५ गते बुधबार । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशले मानवीय विकासलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ । जीवन विकास लघुवित्तकोे सहकार्यमा प्रथम थ्री जिरो क्लब सदस्य सम्मेलन-२०८१ को आज मोरङको कटहरीमा शुभारम्भ गर्नुहँदै उहाँले मानवीय विकासबाट प्रदेशले समृद्धि हाँसिल गर्ने विचार व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्की यस क्षेत्रमा आवश्यक रहेको चिकित्सक, इन्जिनियर, अधिवक्ता, कृषि र पशु स्वास्थ्यकर्मीलगायतका जनशक्ति उत्पादन गर्नका निःशुल्क अध्ययनको लागि बजेटको विनियोजन गरिएको जानकारी दिनुभयो ।उहाँले युवाले नयाँनयाँ कुराको अविष्कार गरी मुलुक र प्रदेशको हितका लागि कार्य गर्नु आजको आवश्यकता भएको धारणा राख्नुभयो । प्रदेश सरकारले यस क्षेत्रमा छिमेकी मुलुकका धार्मिक पर्यटक आगमन वृद्धिका लागि विभिन्न समुदायको आस्थाको केन्द्र रहेका मठमन्दिर, भाषा, संस्कृति, खानपिनको संरक्षणमा विशेष जोड दिएको उहाँले धारणा राख्नुभयो ।

स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शङ्करमान श्रेष्ठले युवायुवतीलाई नेतृत्वदायक भूमिका प्रदान गर्ने उद्देश्यले क्लबको गठन गरिएको जानकारी दिँदै युवापुस्तालाई विदेश पलायन रोक्न वित्तीय संस्थाले विशेष कार्यक्रम ल्याउनुपर्ने सुझाव दिनुभयो ।
जीवन विकास लघुवित्त संस्था लिका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डलले क्लबका सदस्यले समाज र देशप्रतिप्रति जिम्मेवारी बोध गर्नुका साथै सामाजिक चेतनास्तरको विकासमा मद्दत पुग्ने धारणा राख्नुभयो । रासस

Facebook Comments