Fri. May 3rd, 2024

‘अब धनगढी दौडिन्छ’ म्याराथनमा मुकेश पाल प्रथम   

‘अब धनगढी दौडिन्छ’ भन्ने नाराका साथ नयाँ वर्ष २०८१ का आवसरमा कैलालीको धनगढीमा आज आयोजित हाफ म्याराथन प्रतियोगितामा मुकेशबहादुर पाल प्रथम भएका छन् ।    

    
सुदूरपश्चिम, २०८१ वैशाख १ गते शनिबार । ‘अब धनगढी दौडिन्छ’ भन्ने नाराका साथ नयाँ वर्ष २०८१ का आवसरमा कैलालीको धनगढीमा आज आयोजित हाफ म्याराथन प्रतियोगितामा मुकेशबहादुर पाल प्रथम भएका छन् ।

धनगढी जेसीजद्वारा आयोजित २१ किलोमिटर दूरीको उक्त हाफ म्याराथन मुकेशले एक घण्टा सात मिनेट ५७ दशमलव ३५ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान प्राप्त गरे । जितसँगै नेपाली सेनामा कार्यरत उनले रु ६६ हजार ६ सय ६६ पुरस्कार प्राप्त गरे ।

यस्तै दुर्गाबहादुर बुढाले एक घण्टा आठ मिनेट १२ दशमलव ७७ मिनेटमा उक्त दूरी पार गर्दै दोस्रो स्थान प्राप्त गरे । उनलाई रु ४४ हजार चार सय ४४ पुरस्कार प्रदान गरियो । एक घण्टा आठ मिनेट ४९ दशमलव ८६ सेकेन्डमा उक्त दूरी पार गरी तेस्रो स्थान प्राप्त गर्ने नरेन्द्रसिंह रावतलाई रु ३३ हजार तीन सय ३३ पुरस्कार प्रदान गरियो । हाफ म्याराथनमा उल्लेख्य सङ्ख्यामा खेलाडी सहभागिता थियो ।

धनगढी रङ्गशालाबाट सुरु भएको हाफ म्याराथन सहिद गेट हुँदै गेटा मेडिकल कलेज पुगेर पुनः रङ्गशाला फर्किएर समापन भएको थियो ।

यस्तै, पुरुष पाँच किलोमिटर दौडतर्फ कवीर कामी प्रथम, विकास बोहरा दोस्रो र विकास सिंह तेस्रो भए । पाँच किलोमिटरकै महिला दौडमा कमला बडुवाल पहिलो, बागेश्वरी धामी दोस्रो र तुलसी रावत तेस्रो भए । दुवै विधामा पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्नेलाई क्रमशः रु ६ हजार ६ सय ६६, रु चार हजार चार सय ४४ र रु तीन हजार तीन सय ३३ पुरस्कार प्रदान गरिएको धनगढी जेसिजका हरि जोशीले बताए ।

धनगढी जेसिजले एक दशकदेखि नयाँ वर्षको पहिलो दिन ‘धनगढी दौडिन्छ’ नाराका साथ हाफ म्याराथन प्रतियोगिता गर्दै आएको छ । धनगढीको समग्र विकासमा टेवा पु¥याउन यस्तो प्रतियोगिता गरिएको आयोजकले जनाएको छ । आजको प्रतियोगिताको प्रवद्र्धकमा जेसिज एभरेष्ट स्कुल, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, धनगढी उपमहानगरपालिकालगायत थिए । रासस

Facebook Comments