Sat. May 4th, 2024

अब काममा ढिलाइ हुने छैन : नवनियुक्त उपप्रधानमन्त्री महासेठ   

नवनियुक्त उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठ बुधबार मन्त्रालयमा पदभार ग्रहण गर्दै । तस्बिर चन्द्रकला क्षेत्री / रासस

काठमाण्डू, २०८० फागुन २३ गते बुधबार । नवनियुक्त उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले अब कुनै पनि हालतमा काममा ढिलाइ नहुने बताउनुभएको छ ।

सिंहदरबारस्थित कार्यालयमा आज पदबहाली गर्दै उपप्रधानमन्त्री महासेठले देशभरका भौतिक पूर्वाधार निर्माणको काममा भइरहेको ढिलासुस्ती अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले ढिलासुस्तीका कारण र त्यसको समाधानसहितको प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिनुभयो । मन्त्रालयका सहसचिव कृष्णराज पन्थको नेतृत्वमा पाँच सदस्यीय कार्यदल बनाइएको छ ।

“विकास निर्माणका सबै काम १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी कार्यदल बनाएको छु । काममा किन ढिलाइ भयो, यसअघि भएका कमीकमजोरी र यो काम गर्न योजनासहित अब के गर्नुपर्छ भन्नेबारे कार्यदलले अध्ययन गर्नेछ”, उपप्रधानमन्त्री महासेठले भन्नुभयो, “अब काममा ढिलाइ हुने छैन ।”

उपप्रधानमन्त्री महासेठको राजनीतिक यात्रा    

उपप्रधानमन्त्री महासेठ नेकपा (एमाले) बाट धनुषा निर्वाचन क्षेत्र नं ४ बाट दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसक्नुभएको छ । लामो समयदेखि राजनीतिमा सक्रिय रहनुभएका उहाँले यसअघि तीन पटक सङ्घीय सरकारमा मन्त्रीको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ ।

उपप्रधानमन्त्री महासेठ २०३७ सालमा अनेरास्ववियुको पूर्वाञ्चल क्षेत्रको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँ २०५४ सालदेखि एमालेको केन्द्रीय कमिटी सदस्य तथा पछि स्थायी कमिटी सदस्य रहनुुभयो । राजनीतिक आन्दोलनका क्रममा उहाँले पटकपटक गरी १३ महिना जेल जीवन बिताउनुभएको थियो । रासस

Facebook Comments