Mon. Apr 29th, 2024

चीनको आर्थिक विकासबाट नेपाल लगायतका छिमेकी देशहरुलाई पनि फाईदा पुग्ने विज्ञहरुको भनाइ

- NPC_CPPCC_2024

भिओके समाचार/काठमाण्डू, २०८० फागुन २३ गते बुधबार । नेपालको उत्तरी छिमेकी चीनले गरेको द्रुत आर्थिक विकासले नेपाल लगायतका छिमेकी मुलुकलाई पनि फाइदा पुग्नसक्ने विज्ञहरुले बताएका छन् । चाईना मिडिया ग्रुपले आज काठमाण्डूमा आयोजना गरेको “चीनको आर्थिक विकास र छिमेकी देशहरुका लागि नयाँ अवसर” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै विज्ञहरुले सो विचार व्यक्त गरेका हुन् ।

कार्यक्रममा सहभागी महानुभावहरु, फोटो: उद्धव बोगटी

नेपाल-चीन युवा मैत्री संघ र फ्रेण्डसिप फोरम फर नेप्लिज जर्नालिष्टको सह-आयोजना सम्पन्न सो कार्यक्रममा बोल्नुहुँदै चीनका लागि पूर्व नेपाली राजदूत लीलामणि पौड्यालले चीनले लिएको आर्थिक नीतिले विश्वलाई नै प्रभाव पार्ने बताउनुभयो । नेपाल सरकारका पूर्वमुख्य सचिव समेत रहनु भएका पौड्यालले चीनमा स्थिरता र आर्थिक विकास हुँदा नेपाललाई पनि फाइदा पुग्ने धारणा व्यक्त गर्नुभयो । पौडेलले नेपाल र चीनबीचको सम्वन्धलाई फलदायी बनाउन राजनीतिक र उच्च तहमा चीनप्रतिको बुझाईमा एकरुपता हनुपर्नेमा जोड दिनुभयो । नेपाल चीनको छिमेकी मुलुक भएको कारणले पनि चीनको नीतिले नेपाललाई प्रभाव पार्दैन भन्न नमिल्ने पौड्यालको टिप्पणी छ ।

लीलामणि पौड्याल, चीनका लागि पूर्व नेपाली राजदूत, फोटो: उद्धव बोगटी

वरिष्ठ लेखक तथा कूटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले छोटो समयमा चीनले आर्थिक विकासमा ठूलो फड्को मारेको बताउनुभयो । नेपाल ल्याण्डलक कन्ट्री नभई ल्याण्ड लिक कन्ट्री भएको भन्दै कुटनीतिज्ञ श्रेष्ठले छिमेकी चीनले हासिल गरेका उपलब्धिहरुबाट फाईदा लिएर नेपालको विकास र सम्वृद्धिलाई अगाडि बढाउन सक्नुपर्नेमा जोडदिनुभयो ।

हिरण्यलाल श्रेष्ठ, वरिष्ठ लेखक तथा कूटनीतिज्ञ, फोटो: उद्धव बोगटी

नेपालस्थित चिनियाँ राजदूतावासका डि.सी.एम. वाङ सीनले तीव्र औद्योगीकरणको विकास र अनुसन्धानका कारण चीनको अर्थतन्त्रले फड्को मार्न सफल भएको जानकारी दिनुभयो । उहाँले सन् २०२३ मा चीनले विश्व अर्थतन्त्रमा ४२ प्रतिशत योगदान गरेको दाबीसमेत गर्नुभयो ।

वाङ सीन, डि.सी.एम. चिनियाँ राजदूतावास, काठमाडौं, फोटो: उद्धव बोगटी

चीनको रनमिन विश्व विद्यालयस्थित डिपार्टमेन्ट अफ क्वोओपरेटिभ रिसर्चका निर्देशक डाक्टर लिउ यीङले चीनको द्रुततर आर्थिक विकास, नेपालको आर्थिक विकासका सम्भावना र चिनियाँ सहयोगका बारेमा बोल्नुहुँदै पर्यटन र जलस्रोत क्षेत्रको विकासमार्फत नेपालको समृद्धि सम्भव हुने बताउनु भयो ।

डाक्टर लिउ यीङ, निर्देशक, डिपार्टमेन्ट अफ क्वोओपरेटिभ रिसर्च, रनमिन विश्व विद्यालय, चीन

चाईना मिडिया ग्रुप अन्तरगतको नेपाली विभागका सहायक निर्देशक लिउ वनले चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलन र चिनियाँ राष्ट्रिय जनकंग्रेसको वार्षिक अधिवेशन वारे जानकारी दिनुहुँदै चीन र नेपालबीच परम्परागत रुपमा रहँदै आएको सम्बन्ध दिन प्रतिदिन विकसित भैरहेको बताउनु भयो ।

लिउ वन, सहायक निर्देशक, चाईना मिडिया ग्रुप, नेपाली विभाग

नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका महासचिव रामचन्द्र पराजुलीले चीनसँग प्राचिन कालदेखि नै नेपालको व्यापार व्यवसाय चलिरहेको भएपनि चीनसँग व्यापारीक कारोवार गर्दा भुक्तानी र भिसाको समस्या रहेको जानकारी दिनुभयो ।

रामचन्द्र पराजुली,  महासचिव, नेपाल हिमालय सीमापार वाणिज्य सङ्घ, फोटो: उद्धव बोगटी

चीन अध्ययन केन्द्रका सचिव तथा रे टेलिभिजनका अध्यक्ष प्रकाशबाबु पौडेलले चीनको उदाउँदो अर्थतन्त्र विश्वको दोश्रो ठूलो अर्थतन्त्रको रुपमा स्थापीत भैसकेको अवस्थामा नेपाल लगायतका छिमेकी देशहरुले चीनको विकासबाट फाईदा लिन सक्ने नयाँ अवसर सृजना भएको बताउनु भयो ।

प्रकाश बाबु पौडेल, सचिव, चीन अध्ययन केन्द्र, फोटो: उद्धव बोगटी

चाइना मिडिया ग्रूप, दक्षिण एसिया ब्यूरोका प्रमुख चाङ युए वर्षाले चीनमा यही मार्च ४ र ५ तारिखदेखि सुरु भएका चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलन र चिनियाँ राष्ट्रिय जनकंग्रेसको वार्षिक अधिवेशन वारे जानकारी दिनुभयो । उहाँँले यी अधिवेशनहरुमा चीनको समृद्धि र विकाससँग नेपाल लगायतका छिमेकी देशहरुको समेत विकास र समृद्धिका लागि आवश्यक नीति निर्माण समेत हुने भएकोले दुवै अधिवेशनबारे नेपाली जनताका विचार सुन्न अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

चाङ युए वर्षा, दक्षिण एसिया ब्यूरो प्रमुख, चाइना मिडिया ग्रुप, फोटो: उद्धव बोगटी

नेपाल-चीन युवामैत्री सङ्घका अध्यक्ष विष्णु सापकोटाले नेपाल-चीन सम्बन्धबारे जनतामाझ रहेको भ्रम चिर्दै नेपालको विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

विष्णु सापकोटा, अध्यक्ष, नेपाल-चीन युवामैत्री सङ्घ, फोटो: उद्धव बोगटी

निर्यात व्यवसायी महासंघका अध्यक्ष शङ्कर पाण्डेले चीनको आर्थिक विकासबाट नेपालले प्रशस्त फाईदा लिनसक्ने सम्भावना भएको बताउनु हुँदै उहाँले व्यापारीक कारोवारका लागि भुक्तानी प्रक्रियालाई सहज बनाउनु पर्नेमा जोडदिनुभयो ।

शङ्कर पाण्डे, अध्यक्ष, निर्यात व्यवसायी महासंघ, फोटो: उद्धव बोगटी

नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डाक्टर हरिश्चन्द्र साहले चीनमा सञ्चालन भैरहेका दुई वटा अधिवेशनहरुको सफलताको कामना गर्नुहुँदै चीनको विकासबाट नेपालले पनि फाईदा लिन सक्ने प्रशस्त सम्भावना भएको बताउनु भयो । चीनका नागरिकहरुले जस्तै नेपाली जनाताले पनि आफ्नै श्रम, शीप र क्षमतामा नेपाल निर्माण गर्ने प्रयासमा लाग्नु आजको आवश्यकता भएको डा. साहको भनाई छ ।

डाक्टर हरिश्चन्द्र साह, अध्यक्ष, नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्, फोटो: उद्धव बोगटी

चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलन र चिनियाँ राष्ट्रिय जनकंग्रेसको चीनको राजधानी पैचिङमा सञ्चालन भैरहेका वार्षिक अधिवेशनको सन्दर्भमा आयोजित सो कार्यक्रममा बोल्नुहुँदै वल्र्ड कल्चरल नेटका अध्यक्ष दीपक सरकार, प्रोफेसर डाक्टर बालमुकुन्द रेग्मी, नेपाल चाईना  फ्रेण्डसिप फोरमका अध्यक्ष डाक्टर कल्याण राज शर्मा, हब्स एण्ड हर्बल प्रडक्स् एशोसिएशन नेपालका अध्यक्ष प्रेमराज तिवारी लगायतले नेपाल र चीनबीचको सम्बन्ध जुन गतिमा विकसित हुनुपर्ने हो त्यसो हुन नसकेको बताउनुभयो ।

फोटो: उद्धव बोगटी

उहाँहरूले दुई देशबीच सम्पर्कका लागि भाषाको समस्या, चीनमा व्यापारीक कारोवार गर्दा लेनदेनको समस्या, सीमानाकामा प्रयोगशाला नहुँदाका समस्या, नेपालमा चिनियाँ बैंक नभएको कारण भुक्तानीको समस्या लगायतका विविध विषयमा चर्चा गर्नुहुँदै चीनको विकासबाट अझ बढी फाईदा लिन विभिन्न प्रयास गर्नुपर्नेमा जोडदिनु भयो ।

फोटो: उद्धव बोगटी

कार्यक्रम सहआयोजक संस्था फ्रेण्डसिप फोरम फर नेप्लिज जर्नालिष्टका अध्यक्ष रमेश कुमार भट्टराई ‘हतुवाली’ले ऐतिहासिक कालदेखि प्रगाढ सम्बन्ध रहँदै आएका नेपाल र चीनकाबीचमा पछिल्ला वर्षहरुमा विविध क्षेत्रमा सहयोगको आदान प्रदान हुँदै आएको सन्दर्भमा यस किसिमका अन्तरक्रियाले एकअर्का देशका जनता जनताबीचको सम्बन्धलाई जनस्तरसम्म अझ विकसित गर्न सहयोग पुर्याउने प्रतिक्रिया दिनुभयो ।

रमेश हतुवाली, अध्यक्ष, फ्रेण्डसिप फोरम फर नेप्लिज जर्नालिष्ट, फोटो: उद्धव बोगटी

साथै हतुवालीले चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलन र चिनियाँ राष्ट्रिय जनकंग्रेसको चीनको राजधानी पैचिङमा सञ्चालन भैरहेका वार्षिक अधिवेशनलाई विश्वभरीका सञ्चारमाध्यमहरुले महत्वका साथ हेरिरहेको जानकारी दिनुहुँदै दुवै अधिवेशनको पूर्ण सफलताको कामना समेत गर्नुभएको छ ।

फोटो: उद्धव बोगटी

सो कार्यक्रममा राजनीतिज्ञ, कुटनीतिज्ञ, व्यापार व्यवसायी, समाजसेवी, मैत्री संस्थाका प्रतिनिधि, नेपालस्थित चिनियाँ राजदुतावासका प्रतिनिधि, सञ्चारकर्मी र सर्वसाधारणगरी झण्डै ९० जनाको सहभागिता रहेको थियो ।

फोटो: उद्धव बोगटी
Facebook Comments