Tue. Apr 30th, 2024

‘पत्रकला साप्ताहिक’ पत्रिकाको भव्य लोकार्पण

रमेश हतुवाली/काठमाण्डू, २०८० फागुन ७ गते सोमबार । छापा माध्यमप्रति पाठकहरुको रुची कम हुँदै गएको अवस्थामा एउटा नयाँ साप्ताहिक पत्रिकाको प्रकाशन सुरु गरिएको छ । आजको खबर मिडिया प्रा.लि.को १३ औं वार्षिकोत्सवको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाण्डूमा “पत्रकला साप्ताहिक” नामको नयाँ पत्रिका आज लोकार्पण गरिएको हो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल, पत्रकारिताका प्राध्यापक रामकृष्ण रेग्मी, साहित्यिक पत्रकार संघ नेपालका अध्यक्ष राधेश्याम लेकाली, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डाक्टर धनप्रसाद सुवेदी, सञ्चारकर्मी हेम सुवेदी, स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल इप्पानका अध्यक्ष गणेश कार्की लगायतले एक समारोहबीच सो पत्रिकाको लोकार्पण गर्नुभएको हो ।

विपुल पोख्रेल, अध्यक्ष, नेपाल पत्रकार महासंघ

सो समारोहलाई सम्बोधन गर्नुहुँदै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पत्रकारिता क्षेत्रको शसक्त र सवल उपस्थितीका लागि राज्य अभिभावक भए पनि राज्यसँगको अपेक्षाले मात्र क्रियाशिल हुन नसकिने भएकोले समाजसंगसंगै अघि बढ्नु पर्ने बताउनु भयो ।

रामकृष्ण रेग्मी, पत्रकारिताका प्राध्यापक

पत्रकारिताका प्राध्यापक रामकृष्ण रेग्मीले पाठकहरु सोसियल मिडियामा बसाई सरेको अवस्थामा नयाँ पत्रिका आउनु महत्वपूर्ण भएको बताउनु भयो । वर्तमान अवस्थामा सञ्चारगृहहरुमा थुप्रै समस्या भए पनि पत्रकारिताको बाटो कहिल्यै नछेकिने रेग्मीको भनाइ छ ।

सरोज सिटौला, वरिष्ठ उपाध्यक्ष, यातायात व्यवसायी राष्ट्रिय महासंघ

समारोहमा शुभकामना मन्तब्य व्यक्त गर्नुहुँदै यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सरकारले जनतालाई दिनुपर्ने कुरा दिन नसकेको र राजनीतिक कारणले मुलुकका हरेक क्षेत्र जस्तै पत्रकारिता क्षेत्र पनि जर्जर भएको अवस्थामा सञ्चारकर्मीहरुले शसक्त रुपमा कलम चलाउनु पर्ने बताउनु भयो ।

प्रकाश बस्नेत, कार्यकारी निर्देशक, पत्रकला साप्ताहिक

पत्रकला साप्ताहिकका कार्यकारी निर्देशक प्रकाश बस्नेतले राजनीतिले पत्रकारितालाई नराम्रोसँग गाँजेको अवस्थामा पनि निष्पक्ष पत्रकारिताका लागि आफुहरु प्रत्यनसिल रहने बताउनु भयो ।

डिल्लीरमण सुवेदी, सम्पादक, पत्रकला साप्ताहिक

पत्रकला साप्ताहिकका सम्पादक डिल्लीरमण सुवेदीले अहिलेको अवस्था किन पत्रिका भन्ने प्रश्न उठिरहेको अवस्थामा पनि विगतका अनुभवहरुबाट पाठ सिक्दै जनतालाई सूसुचित गर्ने उद्धेश्यले पत्रिका सञ्चालनको जमर्को गरिएको बताउनु भयो ।

समारोहमा सञ्चारकर्मी हेम सुवेदी, नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव डाक्टर धन प्रसाद सुवेदी, साहित्यिक पत्रकार संघ नेपालका अध्यक्ष राधेश्याम लेकाली, स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल इप्पानका अध्यक्ष गणेश कार्की लगायतले पत्रकारिता क्षेत्रमा देखिएका चुनौती र अवसरका बारेमा बोल्नु भएको थियो ।

फोटो : रमेश हतुवाली

Facebook Comments