Mon. Dec 23rd, 2024

रुसी विपक्षी नेता नाभाल्नीको कारागारमै मृत्यु   

मस्को, २०८० फागुन ४ गते शुक्रबार । रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको शुक्रबार आर्कटिक जेल कोलोनीमा मृत्यु भएको रुसको सङ्घीय कारागार सेवाले बताएको छ । उक्त कारागारमा नाभाल्नीले १९ वर्षको सजाय काटिरहनुभएको थियो ।

नाभाल्नी टहल्न जाँदा बेहोश हुनुभएको र चिकित्सकहरूले उहाँलाई बचाउन नसकेको कारागार सेवाले जनाएको छ । “टहलेपछि नाभाल्नीले अप्ठ्यारे महसुस गर्नुभयो, उहाँ तत्काल बेहोश हुनुभयो, मेडिकल स्टाफ तुरुन्तै आइपुग्यो र एउटा एम्बुलेन्स टिमलाई बोलाइयो”, कारागार सेवाले भनेको छ, “पुनर्जीवनको उपाय गर्दा सकारात्मक परिणाम आएन, प्यारामेडिकहरूले उहाँको मृत्युको पुष्टि गरे, मृत्युको कारण पत्ता लगाउने प्रयास भइरहेको छ ।”

रुसको अनुसन्धान समितिले उहाँको मृत्युको अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ ।

नाभाल्नीका प्रेस सचिव किरा यर्मिशले उहाँको टिमलाई मृत्युको सूचना नदिइएको बताउनुभयो । उहाँले सामाजिक सञ्जालमा एक पोस्टमा भन्नुभयो, “एलेक्सीका वकिल उडानमार्फत अहिले खार्प गइरहेका छन् ।” खार्पमा उहाँ रहेको कारागार कोलोनी छ ।

उहाँका प्रवक्तालाई उद्धृत गर्दै रुसी समाचार एजेन्सीहरूले राष्ट्रपति भ्लादिमिर पुटिनलाई नाभाल्नीको मृत्युको जानकारी दिइएको बताएका छन् । रुसका सबैभन्दा प्रख्यात ४७ वर्षीय विपक्षी नेता नाभाल्नीले रुसमा भ्लादिमिर पुटिनको भ्रष्टाचारको आलोचना गरेपछि सबैभन्दा ठूलो सङ्ख्यामा अनुयायी बनाउनुभएको थियो ।

रुसको कठोर प्रति–विरोधी कानूनका बावजुद उहाँको युट्युब च्यालनमा पोस्ट गरिएका उहाँको खुलासाले लाखौँ ‘भ्यु’ प्राप्त गरेको थियो र हजारौँ रुसीलाई सडकमा ल्याएको थियो ।

जर्मनीबाट रुस फर्केपछि सन् २०२१ को प्रारम्भमै उहाँलाई कारागारमा पठाइयो । कारागारमा उहाँ सोभियत युगको स्नायु एजेन्ट नोभिचोकसँग करिब घातक विषको हमलाबाट निको भइरहनुभएको थियो ।

स्वतन्त्र अधिकार समूह र पश्चिममा क्रेमलिनको व्यापक रूपमा निन्दा गरिएको आरोपको प्रतिशोधमा उहाँलाई १९ वर्षको कारागार सजाय सुनाइएको थियो । गत वर्षको अन्त्यमा उहाँलाई उत्तरी साइबेरियामा रुसको यमालो–नेनेट्स क्षेत्रमा आर्कटिक कारागारको एक कोलोनीमा राखिएको थियो ।

नाभाल्नीको टेलिग्राम च्यानलमा अन्तिम पोस्टमा भ्यालेन्टाइन डेका अवसरमा आफ्नी श्रीमती युलिया नाभाल्नायालाई श्रद्धाञ्जलि राखिएको थियो । उक्त च्यानल निर्वासनमा आफ्ना वकिल र टिमहरूको माध्यमबाट उहाँले प्रबन्ध गर्नुभएको थियो । एएफपी

Facebook Comments