Mon. Dec 23rd, 2024

माओवादी केन्द्रको विधान परिमार्जनसहित पारित, सबै कमिटी प्रत्यक्ष निर्वाचित हुने, केन्द्रिय समिति १९९ जना र पदाधिकारी ११ जनाको बनाउने निर्णय

काठमाण्डू, २०८० फागुन ३ गते बिहीबार । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको विधान परिमार्जनसहित पारित भएको छ । प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट सुझावका आधारमा तयार गरिएको परिमार्जित विधान पारित गरिएको हो ।

आज सम्पन्न विधान अधिवेशनले पार्टीका सबै कमिटी प्रत्यक्ष निर्वाचनबाट निर्वाचित गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीले प्रत्यक्ष निर्वाचनको ढोका खोलेको बताउनु भयो । उहाँले पदाधिकारीमा भने केन्द्रिय कमिटीको निर्वाचनपछि मात्रै निर्वाचन गरिने जानकारी दिनुभयो । केन्द्रिय कमिटीले पदाधिकारी निर्वाचित गर्ने उहाँले जानकारी दिुनुुभयो । त्यस्तै विधान अधिवेशनले केन्द्रिय समिति १ सय ९९ जनाको र पदाधिकारी ११ जनाको बनाउने निर्णय पनि गरेको छ । आयोगहरुमा १५ जनासम्म सदस्य राख्ने भनिएको छ । प्रवक्ता सापकोटाले विधानलाई छोटो बनाउँदै सबै कुराहरुलाई नियमावलीमा स्पष्ट पार्ने निर्णय भएको बताउनु भयो । अधिवेशनले पार्टीको नाम र चुनाव चिन्ह तत्काल नफेर्ने तर सन्दर्भ आएपछि फेर्न सकिने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो ।

माओवादी केन्द्रले सबै जनवर्गिय संगठनहरुको सम्मेलन गर्ने र पुनःगठन गर्ने निर्णय गरेको छ । अधिवेशनले भारत, मध्यपूर्व र बाँकी देशहरुमा गरी ३ वटा छुट्टाछुट्टै प्रदेशस्तरीय समिति बनाउने निर्णय पनि गरेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । आगामी अधिवेशन माथिल्लो तहको कमिटीबाट शुरु हुने उहाँको भनाई छ ।

अधिवेशनमा अध्यक्ष दाहालले विधानलाई समृद्ध बनाउन महत्वपूर्ण सुझाव प्राप्त भएको उल्लेख गर्दै पार्टी नयाँ तवरले अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । विधान अधिवेशनलगत्तै विशेष महाधिवेशनमा तयारीको प्रक्रिया सुरु हुने जानकारी उहाँले दिनुभयो । उहाँले प्राप्त सुझावबाट पार्टीको रक्षा र विकास गर्न सहयोग पुगेको बताउनुभयो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ‘प्रचण्ड’ले यही फागुन १ गते प्रस्तुत गर्नुभएको विधान मस्यौदामा २० समूहबाट सुझाव सङ्कलन गरिएको थियो ।

Facebook Comments