Wed. May 15th, 2024

जलवायु परिवर्तनको असर : माघमै फुल्यो लालीगुराँस

फाइल फोटो ।

लमजुङ, २०८० माघ २८ गते आईतबार । चैत-वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष माघ महिनामै फुलेको छ । बेँसीसहर नगरपालिका-७ स्थित डिभिजन वन कार्यालय लमजुङका प्रमुख डिभिजन वन अधिकृत दीपकप्रसाद पण्डितका अनुसार राइनास नगरपालिकाको राइनासकोट, क्व्होलासोथर गाउँपालिका वडा नं. १ रापासिङ, वडा नं. ६ पसगाउँ, मस्र्याङ्दी गाउँपालिका वडा नं. ३ सिउरुङलगायत जिल्लाका अधिकांश स्थानमा समयअगावै लालीगुराँस फुल्न थालेको हो ।

जिल्लामा चैत-वैशाखतिर फुल्ने लालीगुराँस जलावायु परिवर्तनको मुख्य कारणले माघमै फुलेको उहाँको भनाइ छ । यस वर्ष माघको पहिलो हप्ताबाटै लालीगुराँस फुल्न थालेको बताइएको छ । राइनास नगरपालिकाका प्रमुख खड्गबहादुर गुरुङले राइनासकोटमा लालीगुराँस फुल्न थालेसँगै वन राताम्मे देखिन थालेको बताउनुभयो । यसरी समयअगावै लालीगुराँस फुल्नु जलवायु परिवर्तनको असर देखिएको उहाँको भनाइ छ ।

यहाँ आउने पर्यटकको मुख्य आकर्षणको केन्द्र लालीगुराँस फूल हुन थालेको उहाँले बताउनुभयो । वि.सं. २०७५ फागुनदेखि ११ घरबाट सुरुआत भएको यहाँको घरबास सिङ्गो गाउँ अर्थात् १७ घरमा सञ्चालनमा रहेका छन् । बाइसे-चौबिसे राज्यकालमा लमजुङका राजा यशोबह्म शाहका कान्छा छोरा द्रव्य शाहले राज्य सञ्चालन गरेर राइनासकोटमा बसेको इतिहास बुझ्न र घरबासमा रमाउन आउने पर्यटक गाउँमा फुलेको लालीगुराँससँग भुल्न थालेका छन् । रासस

Facebook Comments