Sun. May 5th, 2024

भोजपुरको महभिर खोलामाथि मोटरेवल पक्की पुल   

भोजपुर, २०८० माघ ६ गते शनिबार । भोजपुर नगरपालिका-१० को महभिर खोलामाथि मोटरेवल पक्की पुल निर्माण सम्पन्न भएको छ । महभिर र खुरीला गाउँलाई जोड्ने महभिर खोलामा रु दुई करोड सात लाख लागतमा पक्की पुल निर्माण गरिएको हो ।

बीस मिटर लम्बाइ रहेको पुलको सुनसरी-४ का प्रतिनिधिसभा सांसद तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उद्घाटन गर्नुभयो । त्यस अवसरमा उहाँले यस क्षेत्रको विकासमा आफूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “जनताको घरदैलोमा पुग्ने क्रममा यो खोलाले धेरै पटक मलाई पनि रोकेको थियो”, उहाँले भन्नुभयो, “स्थानीयले भोगेको समस्यालाई ध्यानमा राखेर यहाँ पक्की पुल निर्माण सम्पन्न गरेका छौँ । अबका बाँकी दिनमा यो पुलले यहाँको विकासको लागि भूमिका खेल्ने छु ।”

खोलामा काठे पुलबाट ओहोरदोहोर गर्दा स्थानीयवासीले जोखिमपूर्ण यात्रा गर्दै आएका थिए । धेरै मेहनतपछि यहाँ पुल लगाउन सफल भएको स्थानीयवासी नेपाली कांग्रेसका जिल्ला सचिव तथा कांग्रेसको केन्द्रीय विभागअन्तर्गत नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका विषय विज्ञ चक्रबहादुर कार्कीले बताउनुभयो ।

“महभिर खोलामा पुल नहुँदा धेरै समस्या थियो”, उहाँले भन्नुभयो, “धेरै समयको मेहनतपछि यहाँ पक्की पुल निर्माण गर्न सफल भएका छौँ । अब हामीलाई आवतजावतमा सहजता छपिएको छ । म आफैँले पनि धेरै ठाउँमा पहल गरेपछि निर्माण गर्न सफल भएका छौँ ।” काफ्ले-महभिर-खुरिला सडक खण्डमा पर्ने यो स्थानमा २०७५ सालबाट पुल निर्माण सुरु गरिएको थियो । यहाँ नेपाल सरकार सरकारको आर्थिक सहयोग र स्वीस सरकारको प्राविधिक सहयोगमा पुल निर्माण गरिएको हो । रासस

Facebook Comments