Mon. Dec 23rd, 2024

पाकिस्तान ; इरानसँगको सीमा क्षेत्रमा विवादपछि आपतकालीन सुरक्षा बैठक   

इस्लामावाद, २०८० माघ ५ गते शुक्रबार । पाकिस्तानका प्रधानमन्त्री अनवर उल हक काकरले हालै इरानी क्षेत्रमा ‘आतङ्कवादविरूद्ध’ को लक्ष्यमा हवाई आक्रमणपछि शुक्रबार सेना र गुप्तचर प्रमुखसँग आपतकालीन सुरक्षा बैठक बोलाउनुभएको छ ।

दुई देशबीचको साझा सीमा क्षेत्र बलुचिस्तानमा भएको दुर्लभ सैन्य कारबाहीले इजरायल-हमास युद्धका कारण उत्पन्न क्षेत्रीय तनावलाई थप बढावा दिएको छ ।

इरानले मङ्गलबार राति पाकिस्तानमा रहेको ‘आतङ्कवादी’ लक्ष्यमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको बताएको थियो भने पाकिस्तानले बिहीबार इरानभित्र रहेका लडाकू लक्षित गरी आक्रमण गरेको बताएको थियो । यसैबचि दुई आयाविक शक्तिराष्ट्रमा भएको तनावपछि संयुक्त राष्ट्रसङ्घ र संयुक्त राज्य अमेरिकाले संयमका लागि अपिल गरेका छन् भने चीनले दुई देशबीच मध्यस्थता गर्ने प्रस्ताव गरेको छ ।

“प्रधानमन्त्रीले आज बस्ने भनिएको राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाउनुभएको छ,” प्रधानमन्त्रीको कार्यालयका प्रवक्ताले एएफपीलाई बताउनुभयो । इस्लामाबादका सुरक्षा अधिकारीका अनुसार सेनाप्रमुख र गुप्तचर निकायका प्रमुख मध्याह्नको बैठकमा सहभागी हुनेछन् ।

विवादका कारण पाकिस्तानी प्रधानमन्त्री काकरले स्विट्जरल्यान्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको आफ्नो भ्रमण छोट्याउनुभएको छ ।

उहाँको कामचलाउ सरकारले पाकिस्तानमा आम निर्वाचनको नेतृत्व गरिरहेको छ जुन केवल तीन हप्ता मात्र बाँकी छ र चुनाव पूर्व नै निर्वाचन स्वच्छ तथा स्वतनत्ररूपमा सम्पन्न हुनेमा आशङ्का व्यक्त गरिएको छ । एएफपी

Facebook Comments