Mon. Dec 23rd, 2024

असंलग्न राष्ट्रहरूको १९ औँ शिखर सम्मेलन युगान्डामा शुरु

अफ्रिकी राष्ट्र युगान्डाको राजधानी काम्पालामा भएको असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को १९ औँ शिखर सम्मेलनमा सहभागी राष्ट्रप्रमुख तथा प्रतिनिधिहरू । तस्बिर: रत्न श्रेष्ठ, रासस

कम्पाला, २०८० माघ ५ गते शुक्रबार । असंलग्न आन्दोलन (नाम) का राष्ट्राध्यक्ष र सरकार प्रमुखहरूको १९ औँ शिखर सम्मेलन शुक्रबार यहाँ शुरु भएको छ। कुल १२० सदस्यीय मञ्चको उद्घाटन सँगै युगान्डाले आधिकारिक रूपमा अजरबैजानबाट मञ्चको अध्यक्षता ग्रहण गरेको हो।

अफ्रिकी राष्ट्र युगान्डाको राजधानी काम्पालामा भएको असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को १९ औँ शिखर सम्मेलनलमा सहभागी राष्ट्रप्रमुख तथा प्रतिनिधिहरू । तस्बिर: रत्न श्रेष्ठ, रासस

अजरबैजानका राष्ट्रपति तथा नामका निवर्तमान अध्यक्षको तर्फबाट शिखर सम्मेलनको उद्घाटन गर्नु भएका अजरबैजानका विदेशमन्त्री जेहुन बायरामोभले अन्तरराष्ट्रिय प्रणालीले हाल थुप्रै चुनौती सामना गरिरहेको अवस्थामा त्यसका आयामबारे छलफल गर्न यो मञ्च लाभदायी हुने धारणा राख्नु भएको छ । उहाँले यी चुनौतीहरूलाई सम्बोधन गर्न सदस्य राष्ट्रहरूबीच निरन्तर एकताका लागि आह्वान समेत गर्नु भएको छ ।

युगान्डाका अध्यक्ष तथा नामका नवनिर्वाचित अध्यक्ष योवेरी मुसेभेनीले विश्वव्यापी शासन प्रणालीमा चलिरहेको एकपक्षीयता स्वीकार्य नहुने धारणा राख्नु भएको छ ।

उहाँले कुनै पनि शासन प्रणाली अरूमाथि थोपर्ने खालको हुन नहुने बताउँदै यस वर्ष सेप्टेम्बरमा हुने संयुक्त राष्ट्रसङ्घीय शिखर सम्मेलनमा विशेष गरी विश्वव्यापी मामिलामा प्रभाव पार्ने प्रयासमा नाम सदस्य राष्ट्रहरूबीच एकताका लागि तयार रहन आह्वान गर्नु भएको छ।

युगान्डाको विदेश मामिला मन्त्रालयले यसअघि दुई दिने शिखर सम्मेलनमा २८ राष्ट्र र सरकार प्रमुखको उपस्थिति रहेको जनाएको थियो। मन्त्रीस्तरीय बैठक र वरिष्ठ अधिकारीहरुको बैठक अघि ‘साझा विश्वव्यापी समृद्धिका लागि आवश्यक सहयोगलाई प्रगाढ बनाउने’ भन्ने नाराका साथ शिखर सम्मेलन शुरु भएको छ ।
सन् १९६१ मा स्थापना भएको यस सङ्गठन बाङ्डुङ्ग सिद्धान्तहरू द्वारा निर्देशित छ जसमा सबै राष्ट्रहरूको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गरिनुपर्ने मान्यतालाई अङ्गिकार गरेको छ ।  साथै यस सङ्गठनले सबै राष्ट्रहरूको समान सहअस्तित्व समानता र अहस्तक्षेपको सिद्धान्तलाई आत्मसात् गरेको छ ।

असंलग्न आन्दोलन ‘नाम’ शीतयुद्धबाट सृजित टकरावको सन्दर्भमा विकासशील देशहरूको हितलाई अगाडि बढाउने उद्देश्यले स्थापना भएको अन्तरराष्ट्रिय सङ्गठन हो । सिन्ह्वा

Facebook Comments