Fri. May 3rd, 2024

सुन्तोलीमा न्यानो पोसाक वितरण

भिओके समाचार/विराटनगर, २०८० पुस २५ गते बुधबार ।  प्रतिकुल मौसमका कारण चिसो बढेसँगै न्यानो लुगा वितरण गर्ने कार्य सुरु भएको छ । मोरङ जिल्लाको कानेपोखरी गाउँपालिका वडा नम्बर ६ मा रहेको सुन्तोली आधारभूत विद्यालयमा अध्ययनरत सबै त्रिचालीस जना विद्यार्थीहरूलाई आज उक्त गाउँपालिकाको रमाइलो बजारस्थित जनसेवा माध्यमिक विद्यालयमा २०४८ सालमा कक्षा दशमा अध्ययनरत विद्यार्थीहरुको समूहले न्यानो लुगा ट्र्याक सुट सेट  वितरण गरेको हो ।

विद्यालयको प्राङ्‌गणमा आयोजित उक्त कार्यक्रममा सुन्तोली आधारभूत विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई वडाअध्यक्ष खड्ग बहादुर बस्नेत र प्रधानाध्यापक धनन्जय फूयललाई पूर्व विद्यार्थीहरुको समूहको तर्फबाट नगेन्द्र रिजालले संयुक्तरूपमा न्यानो लुगा हस्तान्तरण गर्नुभएको हो ।

दाता संस्था जनसेवा माध्यमिक विद्यालय, कक्षा-१० समूह २०४८ यस क्षेत्रमा २०७५ सालमा स्थापित संस्था हो। यसले समूहका सदस्यबाट रकम सङ्कलन गरी अक्षय कोष  स्थापना गरेको र वर्षेनी ब्याजबाट प्राप्त रकम कानेपोखरी भित्रका सामुदायिक शिक्षण संस्थामा अध्ययनरत बालबालिकाहरूको  हीतमा प्रयोग गर्दै आइरहेको छ।

न्यानो पोसाक वितरण गर्दै वडाअध्यक्ष खड्‌ग बहादुर बस्नेतले यस प्रकारका कार्यक्रमले सामुदायिक विद्यालयमा अध्ययन गर्ने वालवालिको अध्ययनमा लगाव र उच्च मनोबल विकास गर्ने हुनाले विपन्न वर्गका नानीहरूको अध्ययनमा समेत टेवा पुग्ने बताउनु भयो।

आयोजक समूहले गत वर्ष पनि जनसेवा माध्यमिक विद्यालय कानेपोखरी-६ मा बालकक्षामा अध्ययनरत ५१ जना बालबालिकालाई पाठ्यपुस्तक बोक्ने झोला र शैक्षिक सामग्री बितरण गरेको थियो। कार्यक्रम सञ्चालनका क्रममा समूहका तर्फबाट पूर्व विद्यार्थी काजीराम गौतमले उक्त कोषलाई समूहका सबै सदस्य माँझ बिस्तार गरेर रू पाँच लाख बनाउने र त्यसबाट ठूलो र प्रभावकारी कार्यक्रम गर्न सकिने हुनाले समूह सो सोचका साथ अघि बढेको बताउनु भयो।

Facebook Comments