Tue. May 7th, 2024

गणतन्त्रको विकल्प छैनः सभापति देउवा

चितवन, २०८० मंसिर ११ गते सोमबार । नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताउनुभएको छ । आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले भन्नुभयो, “गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरा छैन ।”

उहाँले गणतन्त्रको बिरोध गर्नेहरुको अर्थ नरहेको बताउनुभयो । गणतन्त्र बिरोधी गतिविधिबाट राजनीतिक दलहरु अत्तालिएका हुन् ? यो प्रश्नमा उहाँले भन्नुभयो, “को अत्तालियो ? हामी अत्तालिएका छैनौँ ।”

वर्तमान सत्तारुढ गठबन्धन दलको सत्तासाझेदारीका विषयमा पनि सभापति देउवालाई पत्रकारहरुले प्रश्न गरेका थिए । सरकारका नेतृत्वका विषयमा भएको आलोपालोको सहमतिबारे उहाँले स्पष्ट जवाफ दिनुभएन । गठबन्धन दलको सत्ता साझेदारी कसरी हुन्छ ? यस प्रश्नमा उहाँको जवाफ थियो, “थाहा पाइहाल्नु हुन्छ नी ।”

सो अवसरमा कांग्रेस नेता डा शशांक कोइरालाले राजतन्त्र फर्कने विषयमा आफूलाई विश्वास नलागेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “राजतन्त्र फर्कनेमा मलाई कमै विश्वास छ । यहाँ हरेक कुराको सम्भावना छ । संसदले चाह्यो भने जे पनि हुनसक्छ ।” सरकारका कामप्रति नागरिक पूर्णरुपमा सन्तुष्ट हुन नसक्दा व्यवस्थामाथि नै प्रश्न उठेको उहाँको भनाइ थियो ।

गणतन्त्र बचाउन सबै दल एक ठाउँमा उभिनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “मलाई पनि सरकारको काम त्यति सन्तोषजनक लागेको छैन । मुलुकको उन्नति र प्रगतितर्फ सरकारले ध्यान दिएन ।” सङ्घीयता आवश्यक भए पनि यसको वर्तमान संरचनाप्रति भने प्रश्न उठेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “जनताका मनमा आएका व्यवस्था परिवर्तनसम्बन्धी आशङ्का हटाउन सबै दल एक ठाउँमा आउनुपर्छ ।”

नारायणगढ-बुटवल सडक खण्डका विषयमा आफूले निर्माण व्यवसायीलाई १२ पटकसम्म भन्दा पनि काम हुन नसकेको तथा यस विषयमा संसदमा कुरा उठाउने उहाँले बताउनुभयो । रासस

Facebook Comments