Wed. May 15th, 2024

चीनको क्वानचौबाट निजी क्षेत्रले झिकाएको चिकित्सा सामग्री आइपुग्यो

काठमाडौं, २०७६ चैत २१ गते शुक्रबार

मेडिकल सामग्री लिन चीनको क्वानचौ तथा अष्ट्रेलिया र न्यूजील्याण्डका नागरिक लिएर गएको नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुवै वाइडबडी ए-३३० जहाज स्वदेश फिर्ता भएका छन् ।

चीनको क्वानचौ गएको वाइडबडी त्यहाँबाट मेडिकल सामग्री लिएर आज बिहान २:५७ बजे र अष्ट्रेलियाबाट आएको अर्को वाइडबडी जहाज गए राति ११:१८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको निगमका अपरेशन विभाग प्रमुख दीपु जुहार्चनले जानकारी दिनुभयो ।

क्वानचौबाट के-कति सामान ल्याइएको भन्ने यकिन जानकारी आएको छैन । मेडिकल सामग्री लिन निगमको कार्गो उडानको वाइडबडी जहाज बिहीबार बिहान क्वानचौ उडेको थियो । यसअघि चैत १६ गते निगमकै वाइडबडी जहाजमार्फत क्वानचौबाट करिब १३ हजार स्वास्थ्य सामग्री ल्याइएको छ ।

त्यसैगरी बुधबार निगमको अर्को वाइडबडी जहाज चार्टर्ड उडानमार्फत अष्ट्रेलिया र न्यूजील्याण्डका नागरिक बोकेर मलेशिया हुँदै अष्ट्रेलियाको शहर ब्रिशवन पुगेको थियो । निगमले अष्ट्रेलिया गन्तव्यमा पहिलोपटक वाइडबडी जहाजले ऐतिहासिक उडान गरेको उल्लेख छ । निगमको लामो गन्तव्यको यो उडान झण्डै १३ घण्टाको थियो । हाल दुई वाइडबडी ए-३३० र दुई थान न्यारोबडी ए-३२० सिरिजको जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । गोरखापत्र अनलाईनबाट

Facebook Comments