Tue. May 21st, 2024

मुख्यमन्त्री र चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिवबीच भेट   

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपालको भ्रमणमा रहनुुभएका चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिव वाङ चुनचङबीच आज भेटवार्ता भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री पाण्डेले सचिव वाङ चुनचङलाई स्वागत गर्दै नेपाल भ्रमण सफलताको कामना व्यक्त गर्नुुभयो । सचिव वाङ चुनचङको गण्डकी प्रदेश र नेपाल भ्रमणले द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुनुका साथै पोखराको पर्यटन प्रवर्द्र्धनमा थप मद्दत पुग्ने उहाँले विश्वास व्यक्त गर्नुुभयो ।

गण्डकी प्रदेशसँग जोडिएका मनाङ, मुस्ताङ र गोरखा जिल्लाको तिब्बती नाका नियमित सञ्चालन गरी प्रदेशवासीको दैनिकीलाई सहज बनाउनमा आवश्यक सहयोग गरिदिन मुख्यमन्त्रीले सचिव वाङ चुनचङ सँग आग्रह गर्नुुभयो । कोरोला नाकामा नेपालतर्फ आवश्यक पूर्वाधार निर्माणका लागि सघाउन, कोरोला-पोखरा जोड्ने दुई लेनको द्रूत मार्ग निर्माण, तनहुँमा सय शै्ययाको अस्पताल निर्माणमा सहयोगको अपेक्षा गरिएको उहाँले बताउनुुभयो ।

चीनको सहयोगमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्हासा, छ्रन्तु, क्वान चौ लगायत सहरबाट नियमित सिधा उडानका लागि अनुरोध गर्दै उहाँले यसबाट दुई देशबीच व्यापार, पर्यटन एवं जनसम्पर्कमा मद्दत पुुग्ने बताउनुुभयो । तिब्बतसँगको सम्बन्ध अहिले मात्र नभई इतिहासदेखि प्रगाढ रहेको बताउँदै मुख्यमन्त्री पाण्डेले भृकुटीले स्थापित गरेको नेपाल तिब्बत सम्बन्धको स्मरण गर्नुुभयो । १२ औँ शताब्दीतिर अरनिकोले नेपाल-चीनको सम्बन्धलाई थप प्रगाढ बनाएको बताउनुुभयो ।

घनिष्ठ र सौहार्दपूर्ण सम्बन्ध कायम राख्दै द्विपक्षीय सम्बन्धलाई सदियौँदेखि दुुवै राष्ट्रले निरन्तरता दिइरहेको उहाँको भनाइ छ । चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिव वाङ चुनचङले कोरोला नाका कात्तिक २७ गते (नोभेम्वर १३) मा खोल्ने योजना रहेको जानकारी दिनुुभयो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको सहरबाट सिधा उडान गर्ने विषयमा आफू प्रतिबद्ध रहेको बताउँदै उहाँले प्राविधिक समूहलाई यसबारे अध्ययन गर्न पठाउने बताउनुुभयो । गण्डकी प्रदेशलाई पहिलो प्राथमिकतामा राखेर तिब्बतले सहयोग गर्ने बताउँदै वाङ चुनचङले मुख्यमन्त्री पाण्डेलाई चीन र तिब्बतको भ्रमणको निम्ता दिनुभयो ।  रासस

Facebook Comments