Mon. May 20th, 2024

नेपालीहरूको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु, यमपञ्चकको पहिलो दिन आज कागको पूजागरिँदै

- आज काग तिहार

रमेश हतुवाली/काठमाण्डू, २०८० कात्तिक २५ गते शनिबार । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ ।

हिन्दू विधी र परम्परा अनुसार पाँचदिन सम्म मनाईने भएकाले यमपञ्चक पनि भनिने यस चाड अन्तर्गतको पहिलो दिन आज काग तिहार हो । धार्मीक मान्यता अनुसार यमराजको सन्देश वाहकको रुपमा मानिएको कागलाई आज यमदूतकै रुपमा लिई पूजागरी मीठा मीठा खानेकुराहरु दिई सत्कार गरिन्छ ।

यमराजले मत्र्यलोकअर्थात पृथ्वीको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो मीठो खान दिई खुसी पार्ने गरिएको हो ।

हाम्रो लोक व्यवहारमा काग घरमा आई कराएमा बोल बोल बोल्छस् भने शुभ शुभ बोल भन्ने प्रचलनसमेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गरिन्छ । नेपाल, भारत र भुटानको पर्वते समाजमा काग घरमा आई कराएमा पाहुना आउने संकेत हो भनि मान्ने प्रचलन अहिलेसम्म पनि विद्यमान छ ।

कागलाई दहीअसाध्यै मनपर्ने भएकाले आजको दिन कागलाई दहीर भात खुवाएमा यमराजका सामु राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही र भात खुवाउने प्रचलन पनि रही आएको छ ।आज काठमाडांैको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको कागेश्वरी महादेव मन्दिरमा विशेष पूजा हुने गर्छ । यसैगरी हनुमानढोकामा रहेको कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा आराधना गरिन्छ ।

धार्मिक कथनअनुसार दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससँग तिहार पर्वको सम्बन्ध गाँसिए को छ । यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीपदान गर्ने क्रमभने हिजैदेखि शुरु भएको छ । यम दीपदान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन धार्मिक विधि रहेको छ ।

वैदिक कालमा भगवान विष्णुले खुसी भई बलि राजालाई कार्तिक कृष्ण पक्षका अन्तिम ५ दिन तीनै लोकको राज्य भोग गर्न पाउने वरदान दिएको र यी ५ दिन बलि राजाले आफ्नो राज्यभरी दीपावली गरी झकिझकाउ पारेको कथासँग पनि तिहार पर्वको सम्बन्ध जोडिएको छ । यसो गरेमा धनकी अधिष्ठात्री देवी महालक्ष्मी खुसी भई सबैको घरघरमा बास गरी धन धान्यले भरिपूर्ण पारिदिन्छिन् साथै यमराज पनि खुसी हुन्छन् भनी भगवान विष्णुले बलि राजालाई वरदान दिएको कथा प्रचलित छ । त्यसैले प्राचिनकालदेखि नै तिहार चाडमा घर, आँगन सफा गरी, चारैतिर फूलमालाले झकिझकाउ पारेर दीप प्रज्वलन गर्ने प्रचलन छ ।

कागतिहारको अघिल्लो दिनलाई गरगहना र तामाका भाँडाकुँडा किन्ने उत्तम दिन मानिन्छ । सो दिनलाई धनतेरस पर्वका नामले सम्बोधन गरिन्छ । धनतेरसमा गरगहना र भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भएर बस्छिन भन्ने मान्यता छ ।

Facebook Comments