Tue. May 21st, 2024

रुसलाई हतियार दिएको भन्दै अमेरिका र दक्षिण कोरियाद्वारा उत्तर कोरियाको आलोचना

सोल, २०८० कात्तिक २३ गते बिहीबार । आफ्नो प्रमुख सहयोगी दक्षिण कोरियाका शीर्ष अधिकारीहरूसँगको बैठकपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकेनले बिहीबार युक्रेनमाथि रुसी आक्रमणमा सहयोग गर्न रुसमा हतियार पठाएकामा उत्तर कोरियाको आलोचना गर्नुभएको छ ।

अमेरिका, दक्षिण कोरिया र जापानले हालैका सातामा युक्रेनमा रुसको सैन्य अभियानलाई अगाडि बढाउन सहयोग गरेकामा प्योङयाङको आलोचना गर्दै आएका छन् । उत्तर कोरियाले रुसमा १० लाख तोप पठाएको सोलले बताएको छ ।

जापानमा जी-७ का विदेशमन्त्रीहरूको बैठकपछि ब्लिङ्केन अहिले सोलमा हुनुहुन्छ । उहाँले बिहीबार दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलसँग सोलमा भेटवार्ता गर्नुभएको छ । “उहाँहरूले युक्रेनविरुद्धको युद्धमा प्रयोगका लागि उत्तर कोरियाले रुसलाई सैन्य उपकरण र युद्ध सामग्री उपलब्ध गराएकामा कडा निन्दा गर्नुभएको छ”, राष्ट्रपति युनसँग विदेशमन्त्री ब्लिङ्केनको भेटपछि अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, “गाजामा सर्वसाधारणलाई मानवीय सहयोग प्रदान गर्ने दक्षिण कोरियाको प्रतिबद्धताका लागि ब्लिङ्केनले राष्ट्रपति युनलाई धन्यवाद दिनुभएको छ ।”

इजराइल-हमास युद्धमाथि कुराकानी गर्न मध्यपूर्वको शीघ्र भ्रमणपछि ब्लिङ्केनले एसियाली मुलुकको भ्रमण गर्नुभएको हो । यसअघि बिहीबार ब्लिङ्केनले दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार चो ताए-योङसँग भेटवार्ता गर्नुभएको थियो । अमेरिकी विदेश मन्त्रालयका अनुसार युक्रेनलाई सहयोग उपलब्ध गराउने दक्षिण कोरियाको प्रतिबद्धताप्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।

पहिलाको आणविक हतियार र मिसाइल कार्यक्रम एवं युक्रेनमाथि आक्रमणलाई लिएर ऐतिहासिक सहयोगी रुस र उत्तर कोरिया दुवै अन्तर्राष्ट्रिय प्रतिबन्धको अधीनमा छन् । विशेषगरी सेप्टेम्बरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग उत्तर कोरियाली नेता किम जोङ उनको शिखर वार्तापछि दुई मुलुकबीचको बढ्दो सैन्य सहयोग युक्रेन र उसका सहयोगीहरूका लागि चिन्ताका विषय बनेको छ ।

अन्तरिक्षमा सैन्य जासुसी उपग्रह स्थापना गर्न सकियोस् भन्ने उद्देश्यले रुसी अन्तरिक्ष प्रविधिको बदलामा प्योङयाङले रुसलाई हतियार उपलब्ध गराइरहेको दक्षिण कोरियाले बताएको छ । टोक्योमा ब्लिङ्केनले भन्नुभएको थियो, “प्योङयाङबाट रुसले जुन हतियार र युद्ध सामग्री प्राप्त गरिरहेको छ, त्यसको बदलामा उसले प्योङयाङलाई के प्रदान गरिरहेको छ भन्ने कुराले हामी अत्यन्त चिन्तित छौँ ।”

उत्तर कोरियाले रुसलाई हतियार पठाइरहेको छ भन्ने ‘कुनै प्रमाण’ नभएको क्रेमलिनले गत महिना बताएको थियो ।

“उत्तर कोरिया र रुसबीचको यो नयाँ सहयोगलाई ध्यानमा राख्दै दक्षिण कोरियाले अमेरिकी समर्थनको प्रदर्शन र संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धहरूलाई कायमै राख्नका लागि अमेरिकी प्रतिबद्धतालाई एक पटक पुनः पुष्टि गर्न चाहन्छ”, सोल नेसनल युनिभर्सिटीका प्राध्यापक बेन्जामिन ए एङ्गेलले एएफपीलाई भन्नुभयो, “यो भ्रमण यस्तै गर्नका लागि डिजाइन गरिएको हो ।” एएफपी

Facebook Comments