Thu. May 2nd, 2024

शेयर बजार दोहोरो अंकले घट्यो

काठमाण्डू, २०८० कात्तिक २३ गते बिहीबार । तिहारअघिको अन्तिम कारोबार दिन आज शेयर बजार घटेर बन्द भएको छ । अघिल्ला तीन कारोबार दिनदेखि उकालो लागिरहेको शेयर बजार मापक नेप्से आज भने घटेर बन्द भएको हो । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ११.८५ अंक घटेर १८५२.०८ विन्दुमा झरेको छ ।

नेप्से घटे पनि आज कारोबार रकम भने हिजोको तुलनामा केही बढेको छ । हिजो ७८ करोडको शेयर खरिदबिक्री भएकोमा आज ८३ करोड ६० लाख ५ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज सनराइज ब्लुचिप फण्डको इकाईमूल्य सर्वाधिक ५.८५ प्रतिशत बढेको छ । त्यसैगरी, ओरियन्टल होटलको शेयरमूल्य ४ प्रतिशत बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ । माउन्टेन इनर्जी नेपालको शेयरमूल्य आज सर्वाधिक ६.५८ प्रतिशत घटेको छ । यसैगरी नेपाल एसबिआई बैंक र माया खोला हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ ।

कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ७ करोड ६७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यसैगरी सोल्टी होटल र हाथवे इन्भेष्टमेन्टको साढे ३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । आज १३ वटै उपसमूहको परिसूचक घटेको छ ।

Facebook Comments