Sat. May 18th, 2024

इरानमा लागुऔषध पुनःस्थापना केन्द्रमा आगलागी, २७ को मृत्यु

तेहरान । उत्तरी इरानमा शुक्रबार एक लागुऔषध पुनःस्थापना केन्द्रमा भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु एको त्यहाँको न्यायपालिकाले जनाएको छ ।

“लङ्गारुडमा लागुऔषध पुनःस्थापना केन्द्रमा आगो लाग्दा २७ जनाको मृत्यु भएको छ र १२ जनालाई अस्पताल पुर्याइएको छ”, तेहरानबाट उत्तरमा गिलान प्रान्तको लङ्गारुड सहरको न्यायपालिकाको मिजान अनलाइन समाचार वेबाइटले प्रान्तीय मुख्यन्यायाधीश इस्माइल सादेघीलाई उद्धृत गर्दै भनेको छ ।

आगलागीको कारण तत्काल थाहा नभए पनि सादेघीले अनुसन्धान जारी रहेको बताउनुभयो । केन्द्रमा ४० जनासम्म अटाउन सक्ने मिजानले बताएको छ ।

स्थानीय आइएसएनए समाचार एजेन्सीले आगलागीको फुटेज सार्वजनिक गरेको छ जसमा रातिको समयमा आगोले आकाश उज्याले भएको र धुवाँको मुस्लो देखिन्छ । अन्य तस्बिरमा आगो निभाएपछि व्यापक क्षति भएका स्थलहरू देखाइएको छ ।

अगस्टमा तेहरानको ग्र्यान्ड बजारमा आगलागी हुँदा कयाँै पसल जले पनि कुनै मानवीय क्षति भएको थिएन । त्यस्तै सन् २०१७ जनवरीमा तेहरानमा १५ तलाको प्लास्को सपिङ सेन्टरमा आगलागी हुँदा १६ अग्निशमनकर्तासहित कम्तीमा २२ जनाको मृत्यु भएको थियो । एजेन्सी

Facebook Comments