Sun. May 19th, 2024

शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाण्डू, २०८० कात्तिक १४ गते मंगलबार । हिजो सामान्य अंक बढेर बन्द भएको शेयर बजार आज दोहोरो अंकले घटेर बन्द भएको छ। शेयर बजार मापक नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। आज नेप्से परिसूचक १४.२९ अंक घटेर १८६४.४० विन्दुमा झरेको छ।

हिजो करिब ७० करोडको शेयर कारोबार भएकोमा आज कारोबार पनि घटेको छ । आज ५७ करोड १४ लाख ८३ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज ५५ स्टकको मूल्य बढेको छ भने २१८ स्टकको मूल्य घटेको छ । बाँकी १३ स्टकको मूल्य स्थिर रहेको छ । आज महुली लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ६.०५ प्रतिशत बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ ।

प्रिमियममा आईपीओ निष्काशन गरेको सोनापुर मिनरल्सको शेयर निरन्तर तेस्रो कारोबार दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । गत आइतबारदेखि कारोबारमा आएको यस कम्पनीको शेयरमूल्य आज २५५ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै आज एनआईबिएल ग्रोथ फण्डको इकाईमूल्य करिब ६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सूर्य ज्योति लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो इन्स्योरेन्सको आज १ करोड ७० लाख ११ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १ करोड ६५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक आज सर्वाधिक १.४६ प्रतिशत घटेको छ ।

Facebook Comments