Mon. May 6th, 2024

बडादशैँका अवसरमा नेपाली सेनाद्धारा जेष्ठ नागरिकलाई भोजन   

जानकी (बाँके), २०८० कात्तिक ८ गते बुधबार । बडाको दशैँको अवसरमा नेपाली सेनाले आश्रमका जेष्ठ नागरिकलाई भोजन गराएको छ । मङ्गलबार बाँके राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ शम्शेरगञ्जस्थित ओभरीमा रहेको अर्जुनवाण गणले कोहलपुर नगरपालिका वडा नं ५ स्थित एनसिसीको नीलसागर आश्रममा रहेका जेष्ठ नागरिकहरुलाई भोजन गराएको हो ।

कार्यक्रममा राझाँस्थित चारवाहिनी अड्डाका वाहिनीपति एवं सहायक रथी प्रकाश थापाले निस्वार्थ भावमा मानव सेवामा समर्पित उक्त आश्रमलाई नेपाली सेनाको साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । चाडबाडको अवसरमा आश्रममा आश्रित जेष्ठ नागरिकलाई एक्लोपन महसुस नहोस् भन्ने उद्देश्यले खानाको व्यवस्था गरिएको गणपति अशोक खड्काले बताउनुभयो ।

“चाडपर्व भनेको आफन्तसँग मनाउने पर्व हो तर आश्रममा आफन्त नभएकाहरुलाई आफन्तको कमी महसुस नहोस् भन्ने उद्देश्यले हामीले बडादशैँका दिन भोजन गराएर आफ्नोपनको अनुभूति गराएका मात्र हौँ, उहाँले भन्नुभयो ।

कोहलपुर नगरपालिकाका उपप्रमुख सङ्गीता सुबेदीले आश्रम सञ्चालन गर्नु राज्यको दायित्व भए पनि यो काम नीलसागर आश्रमले निःस्वार्थ भावले गरेकाले उक्त संस्थालाई नगरपालिकाले पनि सहयोग गर्ने बताउनुभयो ।

उहाँले ले फजुल खर्च गरेर मनाइने जन्मदिन र वैवाहिक वर्ष गाँठबाट केही रकम छुट्टयाएर उक्त आश्रमलाई सहयोग गर्न नगरबासीलाई आग्रह गर्नुभयो ।

बाँकेमा केन्द्रीय कार्यालयको रूपमा स्थापना भएको नीलसागर आश्रमका शाखाहरू काठमाण्डू, पोखरा, पाल्पा, सुर्खेत, बर्दिया, दैलेख, कोहलपुर र दाङ्ग गरेर आठ जिल्लामा सञ्चालित छन् ।

कोहलपुर शाखामा रहेका २८ जना जेष्ठ नगरिकलाई नेपाली सेनाले बडा दशैँको दिन भोजन खुवाउनाका साथै राप्तिसोनारी गाउँपालिका ५ स्थित बिनौनामा रहेको जयवागेश्वरी आश्रमका १२ बालबालिकालाई पनि भोजन गराएको थियो । रासस

Facebook Comments