Sat. May 11th, 2024

टुँडिखेलमा फूलपातीको भव्य बढाइँ   

राष्ट्रपति रामचन्द्र पौडेल बडादशैंँको सातौँ दिन शनिबार टुँडिखेलमा नेपाली सेनाद्वारा आयोजित फूलपातीको बढाइँ कार्यक्रमका अवसरमा नेपाली सेनाले दिएको सलामी ग्रहण गर्दै । तस्बिरः प्रदीपराज वन्त / रासस

काठमाण्डू, २०८० कात्तिक ४ गते शनिबार । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आज अपराह्न फूलपाती बढाइँ समारोह गरिएको छ । बडादशैंँको सातौं दिनको अवसर पारेर आयोजना गरिएको फूलपाती बढाइँ कार्यक्रममा सैनिक परेड प्रदर्शन गरिएको थियो ।

बडादशैंँको सातौँ दिन शनिबार टुँडिखेलमा नेपाली सेनाद्वारा आयोजित फूलपातीको बढाइँ कार्यक्रमका बढाइँ गर्दै नेपाली सेनाको टोली । तस्बिरः प्रदीपराज वन्त / रासस                                                                                                                                                                                                                                                                                                  बढाइँ कार्यक्रममा सैनिक हेलिकप्टरद्वारा फूलपाती बढाइ समारोह-२०८० लेखिएको ब्यानर प्रदर्शन, पुष्पवृष्टिका साथै राष्ट्रिय गीतसहित विभिन्न धुन प्रस्तुत गरिएको थियो । नेपाली सेनाले फूलपाती बढाइँअन्तर्गत राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ प्रस्तुत गरेको थियो ।    
बडादशैंँको सातौँ दिन शनिबार टुँडिखेलमा नेपाली सेनाद्वारा आयोजित फूलपातीको बढाइँ कार्यक्रमका अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपति रामचन्द्र पौडेललाई सलामी दिँदै । तस्बिरः प्रदीपराज वन्त / रासस

समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं रक्षामन्त्रीलगायत विशिष्ट महानुभावको सहभागिता थियो ।

बडादशैंँको सातौँ दिन शनिबार टुँडिखेलमा नेपाली सेनाद्वारा आयोजित फूलपातीको बढाइँ कार्यक्रमका अवसरमा मार्चपास गर्दै नेपाली सेनाका टोली । तस्बिरः प्रदीपराज वन्त / रासस

बडादशैंँका सन्दर्भमा गरिने फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ । नेपाली सेनाले सैनिक मञ्चमा हर्षोल्लासपूर्वक फूलपाती बढाइँ गर्ने पुरानै चलन हो । गोर्खाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोकाको दशैंँघरमा भित्र्याउने साइत मिलाएर टुँडिखेलमा फूलपाती बढाइँ गरिन्छ ।

Facebook Comments